धरान : बुढासुब्बा फुटबल प्रतियोगीताको आयोजक धरान फुटबल क्लब तेस्रो दशकमा लाग्दा अहिले सम्म नेतृत्व गर्दै आएका किशोर राईले अध्यक्ष पदबाट बिदा लिएका छन् ।
शनिवार भएको क्लबको छैटौँ साधारण सभा तथा तेस्रो अधिवेशनले प्रताप तामाङलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । उनको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएका हो ।
सर्वसम्मतिबाट निर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष घनश्याम बुढाथोकी रहेका छन् । उपाध्यक्षद्वयमा नरेन्द्र चोङबाङ र रोमी मोक्तान, महासचिव नवीन राई चयन भएका छन् । सचिव गोपाल कार्की, कोषाध्यक्ष धनबहादुर राई, सह-कोषाध्यक्ष सागर घिमिरे निर्वाचित भएका छन् ।
सदस्यहरू विद्या शाक्य, शारदा लिम्बु, हिमाल दाहाल, अर्जुन राई, हेमकुमार गुरुङ, सतिश क्षेत्री, रविन राई, इन्द्रबहादुर थापा मगर, विनय श्रेष्ठ, दर्शन विष्ट, डिल्लीराम श्रेष्ठ र किरण शर्मा चयन भएका छन् ।
निवर्तमान अध्यक्ष किशोर राईले बिदा लिए पनि उनी क्लबको मानार्थ अध्यक्ष रहने छन् । अधिवेशन अघि क्लबको बैठकले विधानमा संशोधन गर्ने निर्णय गर्दै पदाधिकारी थप गर्ने र किशोर राईलाई मानार्थ अध्यक्ष प्रदान गर्ने निर्णय गरेको नवनिर्वाचित महासचिव नवीन राईले बताए ।
कोशी प्रदेश फुटबल सङ्घ कोशी एन्फाका अध्यक्ष राई अखिल नेपाल फुटबल सङ्घ एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष पनि हुन । पछिल्लो समय प्रदेश एन्फाको गतिविधिमा निकै व्यस्तताका कारण अध्यक्ष राईले धरान फुटबल क्लबको अध्यक्ष सहमतिका आधारमा प्रताप तामाङलाई जिम्मा दिएका हुन ।
धरानलाई खेलकुदको सहर बनाउन बुढासुब्बा गोल्डकपले ऐतिहासिक योगदान गरेको छ । पछिल्लो समय प्रतियोगिता आयोजना गर्न आर्थिक सङ्कट व्यहोर्नु परिरहेको छ । यस अवस्थामा धरान फुटबल क्लबको नयाँ प्रताप तामाङको नेतृत्व टिमको अघि २४ औँ बुढासुब्बा गोल्डकपको आयोजना चुनौतीका रूपमा उपस्थित छ ।
एन्फा एकेडेमी धरान-१७ को सभाहलमा प्रमुख अतिथि क्लबका संरक्षक मीन सुब्बाले धरानलाई खेलकुदको सहर बनाउन किशोर राईले दिएको योगदानले इतिहास कायम गरिसकेको बताउँदै एन्फा एकेडेमी धरान ल्याउन र खेल मैदान बनाउन खेलेको भूमिकाको चर्चा गरे ।
उनले भने ‘फुटबलको इतिहासमा किशोर राई पिठो दिएर चामल साट्ने क्षमता भएको व्यक्तित्व हुन ।’ धरान फुटबल क्लबको जसले जिम्मेवारी बहन गरेपनी किशोर राईलाई अलग राख्न नमिल्ने बताउँदै मीन सुब्बाले धरान फुटबल क्लबमा जो आउँछ उसले फुटबलका लागि केही गर्ने अवसर पाउने बताए ।
क्लबका महासचिव प्रताप तामाङले सञ्चालन गरेको उद्घाटन समारोहमा कोशी प्रदेश फुटबल सङ्घका उपाध्यक्ष शिव न्यौपाने, सह महासचिव केशव कार्की, वरिष्ठ पत्रकार हर्ष सुब्बा, पूर्व राष्ट्रिय खेलाडी इन्दु रसाइली, कबिन राई चुनाव समितिका संयोजक अधिवक्ता जेके साम्पाङ्ग, अधिवक्ता अबइन्द्र निरौला निरौला अतिथिका रूपमा उपस्थित थिए ।
DFC-new-team