इटहरी : नेपाल बास्केटबल सङ्घको अध्यक्षमा सुनसरीका भीमसिंह गुरुङ चयन भएका छन् । सङ्घको पाचौं साधारण सभाले गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

यसअघि कार्यवाहक अध्यक्ष रहेका सुनसरीको रामधुनी नगरपालिकाका गुरुङको नेतृत्वमा सम्पूर्ण कार्यसमिति सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।

नवनिर्वाचित केन्द्रीय कार्यसमितिको उपाध्यक्षमा जुमप्रसाद गुरुङ र मनीषकुमार हयोजु छन् भने महासचिव नरेन्द्र थापा, सचिव फनिन्द्रमान श्रेष्ठ र कोषाध्यक्षमा विष्णुहरि त्रिपाठी चयन भएका छन् ।

सदस्यहरूमा पवनकुमार थापा, सरोजा कोइराला श्रेष्ठ, बसन्तराज गिरी, राजकुमार महर्जन र लोकेन्द्रबहादुर सिंह छन्  ।

साधारण सभा उद्घाटन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गरेका  थिए । सो अवसरमा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, विभिन्न राष्ट्रिय खेल सङ्घका पदाधिकारीलगायतको उपस्थिति थियो ।