चतरा : नेपाली काँग्रेस सुनसरी-१ क्षेत्रीय समितिद्वारा शनिवार वराहक्षेत्र-३ स्थित कोभिड अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा १९५ जना बिरामीले स्वास्थ्य परीक्षण गराएका छन् । उनीहरूलाई आवश्यक औषधि समेत वितरण गरिएको हो ।

शिविरमा वराहक्षेत्र वडा १, २, ३, ४, ५ र रामधुनी वडा ६ र ७ का सर्वसाधारणले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा बिपी प्रतिष्ठानका ग्याष्ट्रोलोजी एण्ड हेपेटोलोजी विशेषज्ञ डा. सन्दिप राज बज्राचार्य सहितको टोलीले पेट, ग्यास्ट्रिक, पेनक्रियाज, ठुलो आन्द्रा, पेटको क्यान्सर, दिसाबाट रगत जाने र सुगर तथा प्रेसर लगायतका रोगहरूको जाँच गरेको काँग्रेस क्षेत्रीय स्वास्थ्य विभाग प्रमुख शिखा चेम्जोङले बताइन् ।

शिविरको उद्घाटन प्रमुख अतिथि काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापाले गरेका थिए । उनले जनताको घर आंगनमा स्वास्थ्य शिविर सञ्चालन गरेर काँग्रेसले सामाजिक उत्तरदायित्व वहन गरेको बताए ।

काँग्रेस सुनसरी-१ का सभापति सुजेन्द्र तामाङले भने ‘काँग्रेसले नागरिकलाई स्वास्थ्य बनाउने र समाजलाई समुन्नत बनाउने अभियान सुरु गरेको छ ।’ काँग्रेस सुनसरी-१ ले अन्तर्गतको स्वास्थ्य विभागको संयोजन, सम्बन्धित वडा कार्यसमितिको व्यवस्थापनमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी अभियान सुरु गरेको उनले बताए ।

यस अघि बिपी प्रतिष्ठानको स्ट्रोक टिमको सहयोगमा धरान वडा ३, ८ र १५ मा पनि शिविर सञ्चालन गरिएको थियो । शिविरमा वराहक्षेत्र वडा ३ र ५ तथा अमर पोलिक्लिनिक, धरान १८ को सहयोग रहेको क्षेत्रीय सहसचिव सुमित राईले बताए ।

congress nisulka swasthya sibir 3

congress nisulka swasthya sibir 2