धरान : उद्योग, व्यवसायीहरूले सार्वजनिक अभिव्यक्ति दिँदा तथ्याङ्कको आधारमा यथार्थ कुरा राख्नु पर्ने अर्थमन्त्री डा.प्रकाश शरण महतले बताएका छन् । तथ्याङ्क रहित नकारात्मक कुरा मात्र गरियो भने व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर हुने उनको भनाई छ ।

उद्योग वाणिज्य सङ्घ चितवनको ५७ औँ वार्षिक साधारण सभामा शनिवार मन्त्री महतले भने, ‘निजी उद्योग व्यवसायीले यथार्थ सूचना र तथ्याङ्कका आधारमा मात्र सार्वजनिक अभिव्यक्ति दिन सबैलाई आग्रह गर्दछु ।’

त्यसो गर्दा यथार्थ कुरा ग्रासरुटमा पुग्छ । होइन भने उद्योग, व्यवसायीहरूले प्राप्त गर्न खोजिरहेको कुरा विपरीत परिणाम आउने उनले बताए । तथ्याङ्कलाई एकातिर राखेर नकारात्मक कुरा गरियो भने व्यवसायी, लगानीकर्ता र उपभोक्ताको आत्मविश्वास कमजोर हुने मन्त्री डा. महतले स्पष्ट गरे ।

उनले भने, ‘उपभोक्ताले माग बढाएन भने उद्योगबाट उत्पादित बस्तुको माग घट्छ । माग घट्यो भने व्यवसाय बढ्दैन, त्यस कारण यथार्थ धरातलमा उभिएर आफ्नो कुरा राख्नु होस ।’ अर्थतन्त्र समस्यामा थियो, सुधार गर्न अझै बाँकी रहेको उनले बताए ।

अर्थतन्त्र बिस्तारै लयमा फर्किँदै गरेको दाबी गर्दै मन्त्री महतले रेमिटेन्समा भर परेर अर्थतन्त्र अगाडि बढाउने कुरा गर्नुहुँदैन, तर कुनै व्यक्तिलाई विदेश नजान भनेर रोक्न नसकिने भन्दै देशमै दक्ष जनशक्तिको अभाव भइरहेको बताए ।

उनले भने, ‘विदेश जाऊ भनेर सरकारले प्रोत्साहन गर्दैन, तर जानै पाउँदैनौँ भन्न सक्दैन ।’