धरान : अर्ग्यानिक कृषि उत्पादनका अगुवा सोताङ अर्ग्यानिकका कृष्णकुमार राईलाई साना किसान अवार्ड प्रदान गरिएको छ ।
साना किसान कृषि सहकारी संस्थाको शनिवार भएको २६ औँ साधारण सभामा साना किसान अवार्डबाट राई सम्मानित भएका हुन् । कृष्णकुमार राई धरान-४ स्थित सोताङ आर्गेनिक कृषि फर्मका सञ्चालक हुन ।
शिक्षा सदन माविको सभाहलमा भएको समारोह बिच ज्येष्ठ शेयर सदस्य महिलातर्फ सुविमाया राई र पुरुष तर्फ गोपाल सार्कीलाई सम्मानित गरियो । एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरू छात्र विज्ञान सिग्देल र छात्रा अभिसा श्रेष्ठलाई सम्मानित गरियो ।
प्लस टुमा उत्कृष्ट अङ्क ल्याउने छात्र भाष्कर राई र छात्रा श्रेजल गुर्माछाने मगर पनि सम्मानित भए । सहकारीकी अध्यक्ष शिला राईको सभापतित्वमा भएको समारोहमा साना किसान विकास बैङ्क इटहरी शाखाका प्रमुख दिपकराज पाण्डे प्रमुख अतिथि थिए ।
पाण्डेले हाल सहकारीमा देखिएको समस्याका बाबजुद साना किसानको मन जित्न सफल बनेको र गरिबी न्यूनीकरणमा महत्त्वपूर्ण भूमिको खेलेको बताए । उनले अन्य सहकारी भन्दा साना किसान कृषि सहकारी भिन्न रहेको बताए ।
साना किसानको कुल शेयर पुँजी २ करोड ४३ लाख रुपया रहेको छ । बचत निक्षेप ४ करोड ३१ लाख ६६ हजार रहेको बताइएको छ । सहकारीले ४७ लाख २५ हजार रुपया कुल नाफा गरेको सभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।
सभामा सञ्चालक समिति सदस्य टिकाराम बस्नेतले स्वागत मन्तव्य प्रकट गरे । सञ्चालन सदस्य सचिव विष्णुकुमार श्रेष्ठले सञ्चालन गरेका थिए । धरान-४ का वडाध्यक्ष धनबहादुर राई, वडा ५ का वडाध्यक्ष मनप्रसाद लिम्बु, वडा ६ का राजेन्द्र न्यौपानेको उपस्थिति थियो ।