वराहक्षेत्र : भारतबाट चारकोशे जङ्गलको बाटो हुँदै बर्सेनि आउने हात्तीको बथानले अहिले बराहक्षेत्र नगरपालिकाको ५ वटा वडा आतङ्कित छ । ४ दिन अघि वराहक्षेत्र-५ सिमरबनामा जंगली हात्तीको आक्रमणमा परेर ६९ वर्षीय वृद्ध भीमबहादुर विष्टको मृत्यु भइसकेको छ ।

यसपालि छावा सहित आएका दर्जन बढी हात्तीको बथानले बगुवा, खारखोला, पुनरवास, रेल्वेलाईन, जब्दी, देविघाट, विचपानी, नडाहा, खोरीया, सिमरवना, बिसालचौक बस्तीमा ठुलै उपद्रो मच्चाउँदै छ । हात्तीबाट बच्न सुरक्षाको लागि पुराण समेत लगाएर स्थानियबासी भगवानलाई पुकार्न थालेका छन् ।

वराहक्षेत्र-२ जङ्गल छेउ रेल्वेलाईनकी ७३ वर्षीय टङ्कमाया घिमिरे घरमा एक्लै बस्छिन् । हात्ती बस्ती छिर्ने गौडैमा रहेको घरमा आक्रमण नगरुन् भनी यसअघि पुराण समेत लगाई सकेकी छन् । तैपनि उनको घरमा हात्ती आक्रमण हुन छोडेको छैन ।

यसपालि हात्ती आक्रमणको आशङ्काले 'घिमिरे आमै' भयभीत छिन् । उनलाई हात्तीबाट जोगाउने मानिस वराहक्षेत्रका नगर प्रमुख रमेश कार्की नै हुनसक्छ भन्ने लाग्छ । उनी भन्छिन् ‘जङ्गलमा हात्ती आएको सुन्न साथ म, मेयरलाई फोन गरीहाल्छु ।’

मेयरलाई खबर गरेपछि आत्मबल बढ्ने बताउँदै उनी साइरन बजाउँदै गाडी लिएर हात्ती खेदाउने दलबल आउने बताउँछिन् । हात्तीबाट क्षति भए राहत, क्षतिपूर्ति समेत दिलाउने उनी बताउँछिन् ।

यसपालि हात्तीको बथानले फैलाएको आतङ्क अवस्था अलि बढी नै छ । मानिसको मृत्यु समेत भएकोले हात्ती खेदाउन मध्यरातमा पनि नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालयका रक्षकहरूको दलबल प्रभावित क्षेत्रमा पुग्छन् । त्यसमा मेयर कार्कीले अगुवाइ गर्नु दायित्व पनि हो ।

छावा सहित हिँडेका हात्तीको बथान बढी नै आक्रामक हुन्छ भन्ने विज्ञहरूको भनाई सार्वजनिक भएको बेला बराहक्षेत्र अहिले संवेदनशील क्षेत्र बनेको छ । हात्तीको स्वभाव अनुसार बढी जनधन क्षति पुर्‍याउन सक्ने सम्भावनाप्रति अहिले सुनसरी जिल्लाको स्थानीय प्रशासन पनि गम्भीर भएको छ ।

मेयर कार्कीले भने ‘सरोकारवाला निकायलाई जिम्मेवार बनाउन र स्थानीय जनताको आत्मबल बढाउने काममा पनि लागेको छु ।’ उनका अनुसार स्थानीय सरकार क्रियाशील भएकोले स्थानीय प्रशासन, सरोकारवालाहरूबाट राम्रो सहयोग मिलेको छ । उनले भने ‘मेयर एक्लैले हात्तीको बथान रोक्न सक्तैन ।’

गत वर्ष हात्तीको आक्रमणबाट घाइते भएका वडा २ पुनरवासका धुब्र बस्नेत हात्तीको आतङ्कबाट त्रास भए पनि स्थानीय सरकार, प्रहरी, प्रशासनबाट सुरक्षाका उपायहरू अवलम्बन गरिए जनताको मनोबल बढ्ने बताउँछन् । हात्ती धपाउने दलबल आउँदा यसपालि राहत अनुभव हुने गरेको छ ।

जंगली हात्तीबाट वराहक्षेत्र नगरवासी बर्सेन पीडित हुँदै आएका छन् । पोहोर देखी बच्चा सहित आउने हात्तीको बथानले वराहक्षेत्रको वन सीमावर्ती क्षेत्रमा ठुलै बालीनाली तहसनहस गरेको छ । हात्ती आतङ्क, जनधनको क्षति न्यूनीकरण गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, वन कार्यालय र कोशी टप्पु वन्यजन्तु आरक्षणसँग नगरपालिकाले समन्वय गर्दै आएका नगर प्रमुख कार्कीले बताए ।

जोखिममा रहेका बस्तीमा सचेतना तथा सजकता अपनाउन अनुरोध गर्ने, साइरन बजाउने कार्य भइरहेको छ । जनतालाई सुरक्षित बनाउन कार्यमा सबै पक्षको सहकार्य भैरहको छ । हात्तीको बथानले बराहक्षेत्रको वडा १,२,३,५ र ७ का जङ्गल नजिकैका बस्ती जोखिममा छन् ।

hatti akraman 2 2

hatti akraman 3 2