वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा छावा सहितका जङ्गली हात्तीले मच्चाई रहेको आतङ्कलाई न्यूनीकरण गरी स्थानीयवासिहरुलाई सुरक्षित बनाउन सरोकालवाला निकायले आइतबार संयुक्त छलफल गरेका छन् ।

डिभिजन वन कार्यालय सुनसरीको आयोजनामा वडा नं. २ को कार्यालयको हलमा आयोजना भएको कार्यक्रममा मानव, हात्ती द्वन्द्व व्यवस्थापन सम्बन्धी सचेतनामूलक गोष्ठी तथा छलफल भएको थियो ।

हात्तीको आतङ्कबाट प्रभावित वडाध्यक्षहरू, सामुदायिक वनका पदाधिकारीहरू सहित स्थानीयहरूको उपस्थितिमा भएको गोष्ठीमा नगर प्रमुख रमेश कार्की, जिल्ला प्रशासन कार्यालयका सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपनिरीक्षक विपिन रेग्मी, डिभिजन वन कार्यालय सुनसरीका निमित्त डिभिजन वन अधिकृत धर्मराज यादव, कोसीटप्पु वन्यजन्तु आरक्षणका प्रमुख रमेश यादव तथा जङ्गली जनावार सम्बन्धी विज्ञहरूको उपस्थिति रहेको थियो ।

भारतको आछमबाट नेपालको झापा बाहुनडाँगी हुँदै चारकोशे जङ्गलको बाटो हुँदै वर्सेनी आउने हात्तीको बथानले अहिले वराहक्षेत्र नगरपालिकाको-५ वटा वडा आतङ्कित बनेको छ ।

गतवर्ष जस्तै छावा सहित आएका दुई दर्जन बढी हात्तीको बथानले नगरपालिका ५ वटा वडाका बगुवा, खारखोला, पुनर्वास, रेल्वेलाईन, जब्दी, देविघाट, विचपानी, नडाहा, खोरीया, सिमरवना, बिसालचौक बस्तीमा ठुलै उपद्रो मच्चाउँदै छ ।

गतवर्ष माघ ३ गते सोही स्थानमा ७० वर्षीय धनबहादुर माझीको समेत हात्तीको आक्रमणबाट मृत्यु भएको थियो भने ४ दिन अघि वराहक्षेत्र-५ सिमरबनामा जङ्गली हात्तीको आक्रमणमा परेर ६९ वर्षीय वृद्ध भीमबहादुर विष्टको मृत्यु भइसकेको छ। त्यस्तै दुई दर्जन भन्दा बढी घर, गोठमा क्षति पुर्‍याएको छ, लाखौँ बराबरको स्थानीय किसानको अन्नबाली नष्ट गरेको छ ।

छावा सहित हिँडेका हात्तीको बथान बढी नै आक्रामक हुने भएकाले सजक रहन विज्ञहरूले आग्रह गरेका थिए । हात्तीलाई नजिस्काउन, जङ्गल नजान, मौरी पालन गर्न, सुरक्षित रहन, संवेदनशील रहन डिभिजन वन कार्यालय सुनसरीका निमित्त डिभिजन वन अधिकृत धर्मराज यादवले आग्रह गरेका थिए । स्थानीय हात्तीबाट पीडित स्थानीहरूले प्रशासनलाई हात्तीको आतङ्कबाट सुरक्षित हुने वातावरण बनाउन अनुरोध गरे । जनधनको क्षति हुन नदिने कार्यमा लाग्न स्थानीयहरूले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका थिए ।

जिल्ला प्रशासन कार्यालयका सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले स्थानीयहरूलाई सुरक्षित बनाउन प्रशासन लागि रहेको बताए । जनधनको क्षति हुन नदिन र समस्याको समधानकालागि काम गर्ने उनले बताए ।

‘सरोकारवाला निकायलाई जिम्मेवार बनाउन र स्थानीय जनताको आत्मवल बढाउने काममा पनि लागिपरेको नगर प्रमुख रमेश कार्कीले बताए । 'स्थानीय सरकार क्रियाशील भएकोले स्थानीय प्रशासन, सरोकारवालाहरूको सहयोग लिएर काम क्षति हुन नदिन लागि परेको छु' उनले भने।

'जोखिममा रहेका बस्तीमा सचेतना तथा सजकता अपनाउन अनुरोध गर्ने, साइरन बजाउने कार्य भइरहेको छ, जनतालाई सुरक्षित बनाउन कार्यमा सबै पक्षको सहकार्य भैरहको छ' नगर प्रमुख कार्कीले भने। हात्तीको बथानले वराहक्षेत्रको वडा १, २, ३, ५ र ७ का जङ्गल नजिकैका बस्ती जोखिममा छन् ।