इटहरी : एक-आपस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा सुनिल कार्की निर्वाचित भएका छन् । मङ्गलवार भएको निर्वाचनमा निकटतम प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै कार्की विजयी भएका हुन् ।

७२६ साधारण सदस्य रहेको सहकारीका २८३ सदस्य मतदानमा सहभागी भएका थिए । खसेको मत मध्ये एकमत बदर भयो भने कार्कीको पक्षमा २१३ र प्रतिस्पर्धी कमला दुलालको पक्षमा ६९ मत खसेको हो ।

गत पौष २७ गते भएको संस्थाको १९ औँ साधारण सभाले अन्य पदाधिकारी सर्वसम्मत चयन गरे पनि अध्यक्षमा सहमति हुन सकेको थिएन । सुरुमा ६ जनाको उम्मेदवारी रहेको अध्यक्षमा निर्वाचनको मिति सम्म पुग्दा दुई जना बिच प्रतिस्पर्धा भएको हो ।