मोरङ : कृषि र पशुपालनबाट ग्रामीण क्षेत्रलाई आर्थिक विकासमा आत्मनिर्भर गाउँको रूपमा मोरङको बेतौनालाई नमुना पर्यावरणमैत्री गाउँ इको भिलेज बनाउन योजना वित्तीय संस्था जीवन विकास लघु वित्तले अघि सारेको छ।

मोरङको धनपालथान गाउँपालिका वडा ३ र ४ मा वेतौना पर्दछ । त्यहाँ २ सय घर धुरी छन् । त्यहाँको  परम्परागत पेशा कृषि हो । उनीहरूको आर्थिक जीवनस्तर २ वर्षमा सुधार ल्याउन योजनाको लक्ष्य रहेका लघुवित्तका नायब कार्यकारी अधिकृत दामोदर रेग्मीले बताए ।

उनका अनुसार त्यसका लागि ५ वटा सूचकमा काम थालिएको छ । गाउँका बासिन्दाका लागि पशुपालन र तरकारी खेती निम्ति सहुलियत व्याजमा ऋण दिनेछ । किसानले उत्पादन गरेको दूध र कृषि उपजको बजारीकरणमा सहजीकरण गरिदिनेछ  ।

धनपालथान मै प्राङ्गारिक मल र बायोग्यास उद्योग स्थापना गरेको छ । करिब १० करोड लागतमा स्थापित उद्योगले गोबर खरिद गर्नेछ । वातावरण संरक्षणका लागि संस्थाले स्थानीयलाई धुवाँरहित विद्युतीय चुल्हो प्रयोगका लागि प्रोत्साहन गर्नेछ ।

स्थानीय किसानसँग छलफलमा लघुवित्तका मोरङ क्षेत्र ५ का सांसद योगेन्द्र मण्डलले २ वर्ष भित्र वातावरण मैत्री नमुना गाउँ बन्ने बताए । वेतौनापछि धनपालथान गाउँपालिका र मोरङ ५ लाई नै नमुना बनाउने योजना रहेको उनको भनाई छ ।

उनले भने,‘ पहिलो चरणमा वेतौना गाउँलाई इको भिलेज बनाउन साथ दिनुहोस्, त्यसपछि वडा र पालिका हुँदै क्षेत्रलाई बनाउनुपर्छ ।’

मोरङ–५ को प्रदेशसभा १ का सांसद गयानन्द मण्डलले किसानको जीवनस्तर उकास्ने इको भिलेजको योजना कार्यान्वयनका लागि गाउँका नागरिक अग्रसर हुनुपर्ने बताए । धनपालथान गाउँपालिका अध्यक्ष जिवछ गच्छदारले जीवन विकासले अघि सारेको इको भिलेजको योजनामा पालिकाले सहकार्य गर्ने बताए ।

धनपालथान गाउँपालिका-३ का अध्यक्ष नागेश्वर मण्डल र वडा ४ का अध्यक्ष रामु चौधरीले इको भिलेज निर्माणको योजनामा वडाले पनि सहयोग गर्ने बताए । हंशबाहिनी आधारभूत विद्यालयका प्रधानाध्यापक गौरीशङ्कर मण्डल र गौतमबुद्ध आधारभूत विद्यालयकी प्रधानाध्यापक सुनिता मुर्मुले सहुलियतपूर्ण ऋण सहयोगमा सुरु हुने व्यावसायिक कृषि र पशु पालनको योजनाले किसानलाई फाइदा हुने बताए ।

लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले  ग्रामीण क्षेत्रको आर्थिक विकासका लागि इको भिलेजको योजना अघि सारेको बताए । पहिलो चरणमा वेतौनाबाट इको भिलेज कार्यक्रम सुरु गरेको बताउँदै उनले अन्य क्षेत्रमा पनि विस्तार गर्ने उनको भनाई छ ।

हुलाकी राजमार्ग दक्षिणको समुदाय आर्थिक हिसाबले पछि परेको छ । उनले भने ‘ यो कार्यक्रम सुरु भए जीवनस्तर आफै सुधार हुन्छ,परिवार र समाजको खुसी बढ्छ ।’