विराटनगर : विराटनगर महानगरपालिकाको आयोजनामा बुधवार देखि १६ औँ अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । विद्यालयबाटै खेलाडी उत्पादन गर्न प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा २० सामुदायिक विद्यालय सहित ४३ विद्यालयको सहभागी छन् । प्रतियोगीताका भलिबल, कबड्डी, एथलेटिक्स, उसु, तेक्वान्दो र कराँते खेलमा १५०० सय विद्यार्थी बिच प्रतिस्पर्धा हुनेछ । माघ ५ सम्म चल्ने प्रतियोगीताका विजेता खेलाडीहरू अन्तर पालिका प्रतियोगितामा प्रतिस्पर्धाका लागि चयन हुनेछन् ।

उद्घाटन समारोहमा मेयर कोइरालाले पढाइसँगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिन विद्यार्थीलाई आग्रह गर्दै भने ‘खेलकुदले शारीरिक र मानसिक विकाससँगै व्यक्तिलाई अनुशासित बनाउन सहयोग गर्दछ ।’

सीमित साधन, स्रोत वावजुद महानगरपालिकाले नगरवासीको सर्वाङ्गीण विकासमा ध्यान दिएको बताउँदै  त्यही सीमित स्रोत र साधनबाट धेरैभन्दा धेरै काम गर्नुपरेको मेयर कोइरालाले बताए ।

उपमेयर शिल्पा निराला कार्कीले खेलकुदले मानिसलाई अनुशासित बनाउन सिकाउने बताउँदै प्रतियोगिताबाट राष्ट्रिय, अन्तर्राष्ट्रिय खेलाडी उत्पादन हुने विश्वास गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास संयोजक काजीबहादुर बस्नेत, वडा ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, जिल्ला शिक्षा समन्वय मोरङका प्रमुख टङ्क गौतम, मिल्स माविका प्रधानाध्यापक विन्दुकुमार लावती, आयोजक समितिका सदस्यसचिव हरिप्रसाद पराजुलीले विद्यार्थीहरूलाई शुभकामना व्यक्त गरे ।