धरान : चलचित्र विकास बोर्डले आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिको संयोजकमा ज्योतिराज राईलाई नियुक्त गरेको छ । उनी आदिवासी जनजाति चलचित्र महासङ्घ प्रदेश १ को अध्यक्ष र नेपाल चलचित्र निर्माता सङ्घको कोषाध्यक्ष पनि हुन् ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले राईलाई संयोजक नियुक्त गरेका हुन् । राई यसअघि पनि समितिमा दुई कार्यकाल रहेका थिए । एक कार्यकाल उनी संयोजक र त्यस अघि सदस्य थिए ।

राईलाई आदिवासी जनजाति चलचित्र महासङ्घको सिफारिसमा संयोजक नियुक्त गरिएको हो । ७ प्रदेशका १६ जातीबाट आएका नामहरू मध्येबाट आदिवासी जनजाति महासङ्घले चलचित्र विकास बोर्डलाई एक संयोजक र सदस्यहरू सिफारिस गर्ने प्रावधान छ ।

बोर्डले राईको संयोजकत्वमा छ सदस्यीय समिति गठन भएको हो । सदस्यहरूमा अमर लामा, रविन गुरुङ, विकास मगर, लक्ष्मी योङ्गहाङ, सगिना सुनुवार, अमृतामाया माझी र हरिसिंह  रैखोला समितिको सदस्य सचिव छन् ।

मातृभाषामा निर्माण हुने चलचित्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार बिस्तार गर्ने, नीतिगत रूपमा समेत सक्षम बनाउने मुख्य लक्ष्य लिएको संयोजक राईले बताए ।