धरान : धरानको पुराना विद्यालयहरू मध्ये वडा ८ स्थित सहिद स्मृति मावि ६७ औ वर्षमा प्रवेश गरेको छ ।

बरगाछीमा प्राथमिक विद्यालयका रूपमा २०१३ सालमा स्थापित भएको उक्त स्कुलमा अहिले कम्प्युटर साइन्स सहित प्लस टु सम्म पढाई हुन्छ ।

विद्यालयमा आइतबार आयोजित वार्षिकोत्सवमा प्रमुख अतिथि धरान-८ का वडाध्यक्ष धनबहादुर राईले सहिद स्मृति विद्यालयलाई धरानको नमुना विद्यालयको रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानाध्यापक रामबहादुर विष्टले वार्षिक प्रतिवेदनमा विद्यार्थीहरूमा पठन सस्कृती घट्दै गएकोमा अभिभावकहरूको चिन्ताको विषय बन्नु पर्ने उल्लेख गर्दै आउँदो शैक्षिक सत्रदेखि कक्षा-४ सम्म अङ्ग्रेजी माध्यमबाट पठन पाठन गराइने बताए ।

शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले सहिद स्मृति मावि भौतिक पुर्बाधारयुक्त भएर पनि विद्यार्थी सङ्ख्या न्यून भएकोमा चिन्ता जनाए । अभिभावकहरूको नानीहरू नियमित स्कुल गएका छन् छैनन्, पढाइ कस्तो छ भनेर बुझ्न आग्रह गरे ।

विद्यालयले सहयोगदाता ताजुब लिम्बू सहित उत्कृष्ट शिक्षकहरूलाई सम्मान गरेको छ । वार्षिकोत्सव पूर्व मेयर मनोजकुमार मेन्याङ्वोको सभापतित्वमा भएको थियो । सञ्चालन शिक्षक राजन वनले गरेका थिए ।

sahid smriti

sahid smriti 3