अनुसा थापा

आफू दुःख गरेर भएपनि छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिलाउँछौँ भनेर विभिन्न जिल्लामा आम सर्वसाधारण उपत्यका छिरेका छन् । गाउँमा आम्दानीको स्रोत पनि नहुने र छोराछोरी पढाउन राम्रो शैक्षिक संस्था पनि नहुने भएकाले अभिभावक आफ्नो जन्मथलो छोडेरै यहाँ आउँछन् ।

कोहीकोही चाहिँ रोजगारीकै लागि काठमाडौँ आएका हुन्छन् । काठमाडौँमा बाहिरी जिल्लाका सर्वसाधारण धेरै छन् । भारी बोकेर भएपनि खान्छौँ भनेर आएकाहरू यति बेला मर्कामा परेका छन् । किनकि काठमाडौँमा काम पाउनै छोडेको छ । हिजो दिउँसोको कुरा हो, नाम्लो बोकेर सडकमा भारी कुरिरहेकाहरू निराश भएर उभिरहेका छन् ।

पुतलीसडक चोकमा नाम्लोसहित उभिएका एक जना व्यक्तिले दिउँसो १ बजेसम्म पनि एउटा पनि काम नपाएको बताए । पहिलेपहिले भारी ओसारेरै भ्याइनभ्याइ हुने उनी काममा खोजीमा भौतारिरहेका थिए । हिजोआज काम पाउनै छोडेको र गुजारो टार्न गाह्रो भएको भन्दै उनले आफ्नो गुनासो पोखे । 

भने, ‘पहिलेपहिले भारी ओसारेर भ्याइनभ्याइ हुन्थ्यो । अहिले काम नै पाउँदैनन् । कहिलेकाहीँ फाट्टफुट्ट एकदुईटा पाउँछ, नत्र दिनभरि कुरेर त्यतिकै फर्किनुपर्छ । यतिबेला भइसक्यो बोनी पनि भएको छैन । काम नपाउँदा गुजारा गर्न निकै गाह्रो भएको छ ।’ राजधानीको अस्तव्यस्त ठाउँमा पनि भारी बोक्नेहरू बेरोजगार भएका छन् ।

सोफा, कार्पेट, फर्निचर पसलेहरू पनि व्यापार सुस्ताएको बताउँछन् । पसल खोल्नु र बन्द गर्नु मात्रै भएको तिनको भनाइ छ । यस्ता सामानको व्यापार हुन छोडेसँगै भारी बोक्नेहरू पनि बेरोजगार भएका हुन् । तीन वर्षअघि दिनको १५ सयदेखि ३५ कमाउनेहरू अहिले बोनी नै नहुने गुनासो गर्छन् ।

भारी बोकेरै उनीहरूले आफ्नो गर्जो टारेका थिए, छोराछोरी पढाएका थिए । इन्द्रचोक, महाबौद्ध, भेडासिंह, न्युरोड, चाबहिल, ठमेल, भोटाहिटी, बानेश्वर लगायतका क्षेत्रमा अहिले पनि भीड छ । तर, व्यापारीहरू व्यापार नै नभएको बताउँछन् । यी स्थल व्यापारिक क्षेत्र हुन् । त्यसैले पनि यहाँ सधैँ भीड नै हुन्छ ।

चहलपहल भएपनि पसलभित्र छिरेर सामान किन्ने भने छैनन् । पसलेहरू सटरमा उभिएर ग्राहक बोलाइरहेका हुन्छन् । उनीहरूले जसरी ग्राहक बोलाउँछन्, त्यसले नै व्यापार छैन भन्ने देखाउँछ । व्यापारीहरू खुलेरै व्यापार नभएको र घर भाडा तिर्न समस्या परेको बताउँछन् ।

भीमसेन गोला चोकदेखि बागबजारसम्म ४५ वटा सटर खाली छ, दायाँबायाँ गरेर । कतै सटर खाली, कतै बिक्रीमा भनेर पोस्टर टाँसिएको छ । अन्य क्षेत्रमा पनि सटर खाली देखिन्छ । मुख्य सडकमा त यत्रा सटर खाली छन् भने भित्रभित्र कति होलान् ? अधिकांश पसलेहरू व्यापार नभएकाले भाडा तिर्न नसकेको दुखेसो पोख्छन् ।

उनीहरू सटर छोड्ने अवस्थामा पुगेको बताउँछन् । अहिले अधिकांश बेरोजगार छन्, त्यसैले व्यापार सुस्ताउनु स्वाभाविकै हो । कोही निजी सङ्घसंस्थामा काम गर्थे, कोही सहकारीमा । कोही पसलमा काम गरिरहेका थिए । घरायसी काम गरेर जीविकोपार्जन गर्नेको सङ्ख्या पनि उच्च थियो ।

तर, पछिल्लो समय काम नै छैन । काम भएकाहरूले पनि तलब पाएका छैनन् । लामो समयसम्म तलब नपाएपछि उनीहरू आफ्नो गाउँ ठाउँ फर्किएका छन् । अधिकांश विदेश पलायन भएका छन् । नेपालमै बसेर सानो व्यवसाय गरेर खान्छु भन्नेहरू व्यवसाय छोडेर विदेश छिरेका छन् ।

सरकारले १७ हजार ३०० रुपैयाँ अनिवार्य तलब दिनुपर्ने नियम बनाएको छ । यो नियम घरायसी काम गर्ने होस् या पसलमा सबैमा लागु हुन्छ । कामदारलाई सार्वजनिक बिदाको दिन छुट्टी दिनुपर्ने, चाडपर्व पेस्की दिनुपर्ने, उपचार खर्च दिनुपर्ने सरकारको नियम छ । तर, कसैले पनि सरकारले तोकेजति तलब पाएका छैनन् ।

मासिक तीन हजारदेखि १५ हजार रुपैयाँमा काम लगाइन्छ । तर, त्यही पैसा पनि दिइँदैन । धेरैले काम गरेको ठाउँमा तलब पाएका छैनन् । उनीहरूले कोठा भाडा तिर्न सकेका छैनन् । न बालबच्चाको स्कुलको फिस तिर्न सकेका छन् । कतिपयले कोठाको सामान घरधनीलाई जिम्मा लगाएर हिँडेका छन् ।

छोराछोरी स्कुलबाट निकालेका छन् । काठमाडौँ बस्नेहरू कोठा सरेर काभ्रे पुगेका छन् । जसका कारण तिनका सन्तानको पढाइ बिग्रिएको छ । कतिपयलाई चैतसम्म कसरी धानौँ ? भन्ने भएको छ । उनीहरू जेनतेन चैतसम्म यहाँ बस्ने सोच बनाएका छन् । त्यसपछि त बच्चाको पढाइ सकिन्छ ।

स्कुल चेन्ज गर्दा पनि केही भएन । वैशाख लागेपछि यहाँ थप कोठा, सटर र फ्ल्याट खाली हुने देखिएको छ । पहिलेपहिले काम गर्ने मान्छे पाउँदैनथ्यो । तर, अहिले परिस्थिति बद्लिएको छ । काम खोज्दै मान्छेहरू घरघरमा आउँछन् । ज्यामी काम गर्नेहरूलाई नै फुर्सद हुँदैनथ्यो ।

अहिले सर्वसाधारणसँग पैसा छैन । सहकारीले पैसा खाइदिएपछि लाखौँ बचतकर्ता ‘रित्तो हात’ भएका छन् । पैसा नभएपछि कहाँबाट जग्गा किन्नु र घर बनाउनु ? केही वर्ष अघिसम्म सबैको आर्थिक स्तर राम्रै थियो । तर, कोरोना आएपछि सबै व्यापार व्यवसाय डामाडोल भयो ।

व्यापार-व्यवसाय खस्कियो । सहकारीहरू भागे । घरजग्गा कारोबार सुस्तायो । शेयर र गाडीको खरिदबिक्री न्यून भयो । बजारमा आर्थिक मन्दी छायो । सबैलाई खर्च धान्न नै सास्ती हुन थाल्यो । अधिकांश व्यवसायीहरूले आफ्नो घरमा काम गर्ने मान्छे राखेका थिए । आम्दानी हुञ्जेल उनीहरूले राखे, हुन छोडेपछि निकाले ।

अहिले आफ्नो काम आफै गर्न थालेका छन् । जागिरेहरूको समेत जागिर धरापमा छ । कतिबेला निकालिने हो भन्न सकिँदैन । एकातिर महँगी ह्वात्तै बढेको छ, अर्कोतिर रोजगारी छैन । महँगीले आम सर्वसाधारणको ढाड सेकिएको छ । पेट्रोल डिजेलको भाउ घटेको छ तर भाडा घटेको छैन ।

भाडा तिर्न पैसा नहुँदा पैदल यात्रा गर्न थालिएको छ । काठमाडौँमा एउटा कोठाको आठ हजारदेखि १० हजार रुपैयाँसम्म पर्छ । २५ हजारदेखि लाखौँ पर्ने सटर छन् । खाली सटर ५० लाख रुपैयाँसम्म बिक्री हुने ठाउँ हो यो । अहिले सबैलाई समस्या भएको छ, यो कुरा घरधनीहरू बुझ्दैनन् ।

सस्तोमा नदिने, बरु कोठा खाली राख्ने मनसायमा छन्, घरधनी । ताल्चा लगाए राख्छन् तर भाडा घटाएर दिँदैनन् । व्यापार गर्ने र भाडामा बस्नेसँग घर छोड्नु बाहेकको विकल्प छैन । उनीहरू तिर्न सक्ने अवस्थामा छैनन् । घर खाली राख्दा घरधनीलाई एक रुपैयाँ पनि आउँदैन । सस्तोमा दिए त अलिअलि भएनि आम्दानी हुन्थ्यो ।

यसले दुवै पक्षलाई नोक्सानी भएको छ । छोराछोरीको शिक्षादीक्षा र रोजगारी खोज्दै काठमाडौँ छिरेकाहरू फेरि गाउँ फर्किनुपर्ने भएको छ । अधिकांश घरधनीले बहालबाटै आफ्नो खर्च धानिरहेका छन् । कोठा खाली राख्नुपर्दा त उनीहरूलाई पनि नोक्सान हुन्छ नै । यति बेला १५ हजारको जागिर पाउनु पनि ठुलो भएको छ ।

तर, त्यो पैसा खान, कोठा भाडा तिर्न र गाडी चढ्न पनि पुग्दैन । अनि कसरी धान्ने ? सबैलाई समस्या समस्यै छ । बाहिरको जिल्लाका मान्छेका कारण त काठमाडौँवासी धनी बनेका हुन् । कसैले कोठा लिएर त कसैले पसल थाप दिएर यहाँका मान्छेलाई धनी बनाएका छन् ।

एक जोर राम्रो नलगाई, एक छाक मिठो नखाई उनीहरूले घरधनीलाई भाडा तिरेका छन् । यहाँका मान्छेहरू अरूलाई ठगेर सुकिलामुकिला भएका छन् । बाहिरका मान्छेहरू काम पाइन्छ कि भनेर भोकभोकै हिँडिरहेका छन् तर यहाँकालाई कुनै फरक परेको छैन । शोषकी सोचले काठमाडौँ ग्रस्त छ । जसका कारण गरिबहरूलाई बाँच्न गाह्रो परेको छ ।