धरान : एलाइनेट जिमले पाँचौँ पटक ‘मिस्टर कोशी’ च्याम्पियनसिप उपाधिको बडि बिल्डिङ प्रतियोगिता आयोजना गर्ने भएको छ ।

जिमले आयोजना गरेको प्रतियोगीताहरुमा यो २१ औँ प्रतियोगिता भएको आज बुधवार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विक्रम लिम्बूले बताए । प्रतियोगिता आउँदो चैत्र २३ र २४ गते हुने भएको छ ।

प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी र ७५ केजी गरी कुल पाँच तौल समूहका करिब ५० जना वडिबिल्डहरु बिच प्रतिस्पर्धा हुनेछ । प्रत्येक तौल समूहका विजेताले उपाधिका लागि फाइनल चरणमा प्रतिस्पर्धा प्रदर्शन गरिने छ ।

फाइनल चरणका विजेतालाई पाँचौँ ‘मिस्टर कोशी’ उपाधि विजेता घोषित गरिने छ । विजेताले नगद १ लाख १० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । दोस्रो हुनेले नगद ५० हजार, तेस्रोले नगद ३५ हजार, चौथोले नगद २५ र पाँचौले नगद २० हजार रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिताका विधागत पुरस्कार वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट र मस्कुलर म्यान उपाधि विजेताले नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

प्रतियोगिता धरान-१३ अमरहाट स्थित अमर सेवा समाजको सामुदायिक भवनमा हुने बताइएको छ । गत: वर्षका विजेता चौथो मिस्टर कोशीको उपाधि एनि टाइम फिटनेस धरानका सन्दीप गिरिले चुमेका थिए ।

पत्रकार सम्मेलनमा कोशी प्रदेश शारीरिक सुगठन सङ्घका अध्यक्ष केशव श्रेष्ठ, ऋषिराज राई, पूर्व मिस्टर कोशी सन्दीप गिरि, पूर्व मिस्टर धरान कविरभगत प्रधानाङग लगायतको उपस्थिति थियो ।