धरान : एलाइनेट जिमको विसौं बडिबिल्डिङ प्रतियोगिताको रूपमा चौथो ‘मिस्टर कोशी’ प्रतियोगिता भोलि चैत ३ र ४ गते हुँदैछ । खुल्ला शारीरिक सुगठन प्रतियोगितामा साबिकको कोशी अञ्चलका जिल्लाहरूबाट ५० जना बडि बिल्डरहरु सहभागी हुनेछन् । प्रतियोगिता धरान-१३ स्थित अमर सेवा समाजको हलमा हुँनेछ । 
प्रतियोगिताको सबै तयारी पुरा भैसकेको जानकारी जिमद्वारा बुधवार आयोजित पत्रकार सम्मेलनमा दिइएको छ। प्रतियोगिताका विजेताले नगद एक लाख १० हजार र ५० हजार बराबरको फिटनेस गिफ्ट, दोस्रोले नगद ५० हजार, तेस्रोले ४० हजार, चौथोले ३० हजार, पाचौले २० हजार र छैठौले १५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 
प्रतियोगितामा व्यक्तिगत विधा तर्फ वेस्ट पोजर, मोस्ट इम्पु्रभमेन्ट बडी, मस्कुलर मेन र वेस्ट टिम क्लबको उपाधि विजेताले जनही नगद ५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । भोलि चैत ३ गते प्रतियोगिताको प्रि-जजिङ्ग राउण्ड हुनेछ ।
पर्सी चैत ४ गते प्रि-जजिङ्गवाट छनौट भएकाहरूले प्रतिस्पर्धा गर्ने आयोजक एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बुले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ८० केजी तौल समूह रहेको छ । प्रि-जजिङ्ग मार्फत प्रत्येक तौल समूहवाट ६ जना खेलाडी फाइनल राउण्डमा प्रवेश गर्दै प्रतिस्पर्धा गर्नेछन् ।
चौथो मिस्टर कोशि एलाइनेट जिमको २० औ प्रतियोगिता हो । यसअघि एलाइनेटले चार वटा राष्ट्रिय, ७ वटा मि.पूर्वाञ्चल, ३ वटा मि. कोशि, ४ वटा मि.धरान र १ वेन्चप्रेस च्याम्पियनसिप आयोजना गरिसकेको छ । 
एलाइनेट जिमको आयोजनामा २०६५, २०६६ र २०६७ सालमा मिस्टर कोसीको आयोजना भइसकेको छ। २०६५ र २०६६ मा उर्लाबारीको विकास धिमाल र ०६७ मा धरानको मिलन चाम्लिङले उपाधि जितेका थिए ।