विराटनगर : ऋण मिनाहा हुने प्रचारले उत्पन्न समस्यासँग सामना गरिरहेको नेपाल लघुवित्त बैङ्कर्स सङ्घले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई ऋण मिनाहा नहुने कुरा जनतालाई स्पष्ट बताइदिन आग्रह गरेको छ ।

सङ्घका पदाधिकारीले अर्थमन्त्री महतलाई भेटेर ऋण मिनाहा हुने हल्ला देखिएको समस्या समाधान गर्न आग्रह गरेको हो । भेटमा अर्थमन्त्री महतले ऋण मिनाहा नहुने र हल्लाको पछि नलाग्न सार्वजनिक रूपमा अपिल गर्ने बताए ।

अर्थमन्त्री महतलाई ज्ञापन पत्र बुझाउन सङ्घका अध्यक्ष रामबहादुर यादव, उपाध्यक्ष रामहरि दाहाल, महासचिव सञ्जयकुमार मण्डल युनिक नेपाल लघुवित्त वित्तीय संस्थाका कार्यकारी प्रमुख डा गोपाल सहित काठमाडौँ पुगेका हुन् ।

सङ्घका महासचिव सञ्जयकुमार मण्डलले भने, ‘अर्थमन्त्री ज्युले ऋण मिनाहा हुँदैन, हल्लाको पछि नलाग्न उहाँले आग्रह गर्नुभएको छ ।’ सरकारले बैङ्क तथा वित्तीय संस्थाका बारेमा फैलिएका भ्रम चिर्न ठोस कदम चाल्ने आश्वासन मन्त्रीले दिएको उनले बताए ।

अर्थमन्त्री महतले सार्वजनिक कार्यक्रमहरूमा पनि ऋण मिनाहा हुने हल्लाको पछि नलाग्न आग्रह गर्दै आएका छन् । पछिल्लो समय लघुवित्तको ऋण नतिर्न र राज्यले मिनाहा गर्ने भन्दै केही समूहले अभियान चलाएका छन् ।

ऋण मिनाहाको झुटो प्रचारले विना धितो गरेको लगानी जोखिममा पर्ने भन्दै सङ्घले अर्थमन्त्रीलाई समस्या समाधान गरिदिन आग्रह गरेको हो । लघुवित्तले ५९ लाख ९१ हजार विपन्न परिवारका २८ लाख ३२ हजार महिलालाई करिब ४ खर्ब ३४ अर्ब कर्जा प्रदान गरेको छ ।

अर्थमन्त्री महतलाई लघुवित्त सङ्घले उक्त जानकारी दिँदै लघुवित्त क्षेत्रमा आबद्ध सदस्यहरूलाई कर्जा मिनाहा हुने, लिएको ऋण तिर्न नपर्ने, कर्जा मिनाहाको लागि प्रक्रिया अगाडि बढेको जस्ता भ्रामक प्रचारले समस्या उत्पन्न भएको बताएको हो ।

७७ जिल्लाका स्थानीय तहका परिवारमा वित्तीय पहुँच, महिला सशक्तीकरण, वित्तीय साक्षरता र प्रत्यक्ष रोजगारीको क्षेत्रमा लघुवित्तले योगदान पुर्‍याएको उल्लेख गर्दै सङ्घले सरकारबाट कर्जा मिनाहा नहुने सूचना जारी गर्न माग गरेको छ ।

सरकारसँग वार्ताका नाममा भ्रामक प्रचार भएको उल्लेख गर्दै सङ्घले अर्थ मन्त्रालयका सचिवको संयोजकत्वमा गठित वार्ता समितिको निर्णय सार्वजनिक गर्न पनि आग्रह गरेको छ । कर्जा नतिर्न हल्ला गर्नेलाई बैङ्किङ कसुर ऐन २०६४ अनुसार कारबाही गर्न माग पनि गरिएको छ ।