धरान : अङ्ग्रेजी, नेपाली, हिन्दी र कोरियन चार भाषामा निर्माण भएको गोर्खा सैनिकको ऐतिहासिक कथामा आधारित चलचित्र ‘गोर्खा वारियर’ आउँदो फागुन ११ गते नेपालमा रिलिज हुने भएको छ ।

चलचित्रको नेपाली संस्करणको ट्रेलर बिहीबार काठमाडौँको विश्वज्योति हलमा एक समारोह बिच सार्वजनिक गरियो । मिलन चाम्सको निर्देशनमा बनेको चलचित्रको ट्रेलरलाई हल रिलिजसँगै ओएसआर डिजिटल युट्युब च्यानलमा पनि रिलिज गरिएको छ ।

यसअघि फस्ट लुक्स र टिजर सार्वजनिक भएपछि गोर्खा वारियरप्रति दर्शकको चासो बढेको थियो । चलचित्रको ट्रेलरलाई रिलिज समारोहमा समीक्षकहरूले खुलेर प्रशंसा गरे । ट्रेलर हेरेपछि फिल्म हिट हुने दर्शकको प्रतिक्रिया आएको छ ।

२ मिनट २२ सेकेन्डको ट्रेलरमा गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नु परेका विभिन्न सङ्घर्ष र पीडालाई प्रस्तुत गरिएको छ । सन १९४९ का बेला दोस्रो विश्वयुद्धको क्रममा गोर्खाली सेनाहरूले लडेको मलाया युद्धको कथामा चलचित्र केन्द्रित छ ।

ट्रेलरमा चलचित्रको संक्षिप्त कथा छ । थोरै भएपनि मलाया युद्धबारे दर्शकलाई जानकारी होस भनेर ट्रेलरमा कथा खुलाइएको निर्देशक चाम्सले कार्यक्रममा बताए । सिनेमामा के छ भन्ने गोर्खा वारियर नहेरी थाहा नहुने उनको भनाई छ ।

उनले भने, ‘वीर गोर्खाली सैनिकले पहिलो र दोस्रो विश्वयुद्धमा गरेको युद्धको नभनिएका धेरै कथाहरू हराउँदै जाने भएकोले १९४९ को मलाया युद्धको कथालाई चलचित्रमा प्रस्तुत गरेका हौँ ।’

चलचित्रबाट डेब्यु गरेका अभिनेता रितेश चाम्सले करिब आठ वर्षको तयारी गरेर सिनेमामा आफू आएको बताए । आफै गोर्खा सैनिक भएकाले गोर्खा सैनिकको यथार्थ भूमिकामा काम गर्न सजिलो भएको उनको भनाई छ ।

३१ अगस्ट सन १९५७ मा उपनिवेशबाट मुक्त भएको मलाया (मलेसिया) बेलायतको उपनिवेशमा रहँदा स्वतन्त्रताको लागि भएको मलायाका विद्रोही समूहले १९४० देखि बेलायती शासक विरुद्ध गुरिल्ला युद्ध गर्दै आएका थिए ।

सुरुमा बेलायती सैनिकलाई विद्रोहीले बन्दी बनाए । बेलायतले पुन पठाएको गोर्खा सैनिकले मलायाको जङ्गलमा सन १९४९ मा गरेको भीषण युद्धको झलक ट्रेलरमा समेटिएको छ ।

युद्धका क्रममा गोर्खाली सैनिकको परिवार प्रतिको बिछोड र सम्झनाका कारुणिक दृश्य पनि ट्रेलरमा हेर्न पाइन्छ । गोर्खा वारियरको ट्रेलर हेर्दा निकै महँगो बजेटमा बनेको हलिउडको वार जनराको फिल्मको अनुभव दर्शकले गर्नेछ ।

पहिलो पटक बेलायतमा रेड कार्पेट प्रिमियम गरेपछि ‘गोर्खा वारियर’ले अन्तर्राष्ट्रिय चर्चा पाएको हो । चलचित्रले हालै ‘ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्टस्’ बाफ्ता अवार्डका लागि प्रवेश पाएपछि चर्चा झनै बढ्यो ।

चलचित्रको नेपाली संस्करण तयार भइसकेको छ । हिन्दी, कोरियन र अङ्ग्रेजी संस्करण पनि अन्तिम अवस्थामा पुगेको बताइएको छ । चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारहरूको मुख्य भूमिका रहेको छ । 

गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको सङ्गीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रङ्ग संयोजन रहेको छ । यो सिनेमाको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।

चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइबा छन् । कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सह निर्मातामा सुरेश राई रहेका छन् ।

gorkha warrior 2