धरान : परिवर्तनका लागि सामाजिक अभियानको ५१ औँ मुटुरोग परीक्षण शिविर आइतबार धरान वडा १५ को दशरथपथमा आयोजना गरियो ।

दशरथपथ टोल सुधार समितिको सहकार्यमा भएको शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.प्रशान्त साहले वडाका ज्येष्ठ नागरिकहरूको मुटु सम्बन्धी स्वास्थ्य परीक्षण गरेका छन् । शिविर हिरेराम कीर्तन कुञ्जमा भएको हो ।

अभियानले हरेक १५ दिनमा आयोजना गर्ने शिविरमा विशेषतः ६० वर्ष नाघेका ज्येष्ठ नागरिकहरूको मुटु सम्बन्धी समस्याको परीक्षण गरिँदै आएको छ । उनीहरूलाई डा.साहले निःशुल्क स्वास्थ्य परीक्षण गर्ने गरिएको अभियानका अध्यक्ष विष्णु बरालले बताए ।

बरालका अनुसार शिविरमा बिरामीहरूको निःशुल्क मधुमेह परीक्षण र औषधी समेत निःशुल्क प्रदान गरिएको थियो । त्रिभुवन बरालको संयोजकत्वमा भएको पाक्षिक क्लिनिकमा बि.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स कला थापा र एलिना केसीले बिरामीहरूका लागि रक्तचाप जाच र मधुमेह परीक्षण गरेका थिए ।

परिवर्तनका लागि सामाजिक अभियानका मोहन श्रेष्ठ, हेम ढकाल, जेनिश शाक्य, निशान नेपाल, वर्षा अग्रवाल लगायतका अभियन्ताहरूको सक्रिय सहभागिता रहेको थियो ।

समापनमा प्रमुख अतिथि वडा १५ अध्यक्ष नरेश इवारमले निरन्तर आयोजना हुने शिविरले धराने जनताहरूलाई राम्रो सुविधा दिएको बताए । परिवर्तनका लागि सामाजिक अभियानबाट निरन्तर शिविर आयोजना गरेकोमा अध्यक्ष विष्णु बराल र डा.प्रशान्त शाहप्रति उनले आभार व्यक्त गरे ।

कार्यक्रममा समाजसेवी वासुदेव गौतम, दशरथपथ टोल विकास संस्थाका अध्यक्ष सन्तोष खतिवडा लगायतले आयोजक संस्थाप्रति धन्यवाद ज्ञापन गरेका थिए ।

samajik swastha clinic 3

samajik swastha clinic 2