विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजका सदस्यहरूले लोभ त्याग गरेपछि मात्रै असल समाजको निर्माण हुने बताएका छन् । हलुवाई साह समुदायको कूल देउता बाबा कंगाली शिवदत्त देवको पुजनोत्सवमा बर्जू गाउँपालिका-२ बेलगछियामा सोमबार उनले भने, ‘समाजमा अहिले स्वार्थमा लिप्त भएका व्यक्तिहरूको कारण समाज पछि परेको छ।’

उनले अहिलेसम्म हुँदै आएको भौतिक विकासले परम्परागत समाज परिवर्तन नभएकाले चालू आर्थिक वर्षको बजेटबाट मानवीय विकासका नीति लागु गरिएको बताए । प्रदेश सरकारले प्रत्येक पालिकामा गरिब र विपन्न परिवारका १/१ जना विद्यार्थीलाई छोराछोरी पशु र कृषि प्राविधिक निःशुल्क पढाउन सुरु गरिसकेको मुख्यमन्त्री कार्कीले बताए ।

गरिब परिवारका जेहेन्दार विद्यार्थीको चिकित्सा शिक्षा र इन्जिनियर पढ्ने सपना पैसाको अभावमा अब अधुरो नरहने उल्लेख गर्दै त्यसको लागि प्रदेश सरकारले छात्रवृत्तिको व्यवस्था गरिएको बताए । उनले भने, ‘चालू आर्थिक वर्षबाट नै छात्रवृत्तिमा एमबिबिएस र इन्जिनियर पढाउन सुरु गरिरहेको छ ।’

प्रदेशमा १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार गराउन प्रदेशमा २५ लाखभन्दा कमको योजना कटौती गरेको उनले बताए । मुख्यमन्त्रीले भने, ‘गाउँको मन्दिर छोडेर पाथिभारा, बराहक्षेत्र र हलेसीमा भाकल गर्ने चलन बढेको छ, त्यसैले गाउँमा वडाध्यक्ष र पालिका प्रमुखले छान्ने योजना कटौती गरेर पाथिभारा, हलेसी र बराहक्षेत्रमा बजेट राखेका छौँ ।’

बर्जूलाई सहर बनाउन केसलीया कोरिडोर निर्माण सुरु गर्न लागेको बताउँदै मुख्यमन्त्रीले बर्जू तालको पानी देखाएर होइन त्यसलाई पर्यटकीय गन्तव्य बनाउने योजना ल्याउन लागेको बताए ।

kedar karki 2