वराहक्षेत्र : महिलाहरूले सञ्चालन गरेको बयरबन महिला बचत तथा ॠण सहकारी संस्था लिमिटेडले एकदिने नि:शुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

वराहक्षेत्र नगरपालिका वडा २ बयरबनको सखुवागाछी स्थित संस्थाको कार्यालय भवनमा सोमबार गरिएको शिविरमा इटहरीको वडा ४ स्थित नवदृष्टि आई हस्पिटलबाट आएका ६ जना चिकित्सकले जाँच गरेका थिए ।

डाक्टर राकेश थापाको नेतृत्वमा आएका डा.अञ्जलि साह, निरन राई,सीता लिम्बु, अर्जुन माझी र इन्द्र गिरिले १ सय ६२ जनाको आँखा जाँच गरी नि:शुल्क औषधि प्रदान गरेका थिए ।

जाँच गरिएका मध्ये २० जनामा मोतीबिन्दु भेटिएको थियो । ८ जनाको सोही दिन हस्पिटलको गाडीमा राखी इटहरी स्थित नवदृष्टि आई हस्पिटलमा आँखाको शल्यक्रिया गरिएको थियो भने बाँकीलाई हप्ता दिन भित्रमा अप्रेसन गरिने सहकारीकी अध्यक्ष रेणुका तिमिल्सिनाले बताइन।

यसैगरी शिविरमा १५ जनालाई २० प्रतिशत छुटमा चस्मा उपलब्ध गराइएको तिमिल्सिनाले बताइन ।

सामाजिक उत्तरदायित्व अन्तर्गत विशुद्ध महिलाहरूको बयरबन सहकारीले विभिन्न सामाजिक गतिविधि तथा सदस्यको आर्थिक उपार्जन र स्वरोजगारको लागि गुडिया, पोते, माला, हातको बाला, कुसन बनाउने लगायत तालिम गराउने गरेको उनले जानकारी दिइन।