इटहरी : घर सिँगारेर चिटिक्क पारिएको छ । पाहुनाहरूको चहलपहल बढ्दै गइरहेको थियो । छिमेकीहरू विवाहको अन्तिम तयारीमा जुटिसकेका थिए । अ‍ैचोपैचो गरेर कान्छी छोरीको विवाहमा खुसी मनाउँदै थिए गुलाबी मुखिया ।

गत शनिवार छिमेकीलाई निम्ता बाँडेर भर्खरै घर पुगेका थिए उनी । सोमबारको विवाह धूमधाम गर्ने योजना थियो । केही समयमै छोरीलाई अर्नाले हानेको भन्ने खबर पाए । उनलाई बज्रपात पर्‍यो । कतिपयले सामान्य घाइते भएको अड्कल काट्न थाले । बेहुली हुन लागेकी छोरी घाइते भएपनि ठुलै कुरा भएको भन्दै दुखी भए मुखिया ।

केही समयमा छोरी रन्जुकुमारी मुखिया बेहोस भएको खबर आयो । घरबाट डेढ किलोमिटर पश्चिम कोशी किनारमा घाँस काट्न पुगेकी उनलाई अर्नाले आक्रमण गरेको थियो । सानो झुण्डमा रहेको अर्नाले भाग्ने क्रममा आक्रमण गरेको स्थानीय हरिराम यादवले बताए । उनका अनुसार घाइते भएर ढलेपछि पनि अर्नाले आक्रमण गर्न नछाडेको कारण रन्जुकुमारीको घटना स्थलमै निधन भएको हो ।

रन्जुकुमारीको मृत्यु भएको खबर गाउँमा हल्ला भयो । बाबु मुखिया बेहोस भए । माछा मारेर परिवार पाल्दै आएका उनी श्रीमतीको पछि छोरी गुमाउनु परेको वियोगमा डुबे । १२ वर्ष अगाडी श्रीमतीको मृत्यु भएपछि उनी लामो समय वियोगमा रहे । पछि दोस्रो विवाह गरेर आफ्नो व्यवसायीक यात्रा अगाडी बढाउँदै थिए मुखिया ।

५ सन्तानका बा मुखिया कान्छी छोरीको विवाहमा जुटेका हुन् । सप्तरीको कञ्चनरुप नगरपालिकाकाका दुलहा सँग दुलही बन्ने तयारीमा थिइन् रन्जुकुमारी । सोमबार बेहुली बन्नु अगाडी नै आइतबार चिता चढिन् उनी ।

शनिवारै पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगियो । सोमबार बेहुली बन्ने तयारीमा रहेकी रन्जुकुमारी अघिल्लो दिन नै चितामा चढिन् । उनको पोस्टमार्टम रिपोर्ट आउन केही समय लाग्ने भएकोले कोशीटप्पु वन्यजन्तु आरक्षले पीडित परिवारलाई क्षतिपूर्ति दिने आश्वासन दिएको छ । आरक्षले वन्यजन्तुको आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख उपलब्ध गराउँदै आएको छ ।

आरक्ष प्रशासनका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि हाल सम्ममा हात्तीको आक्रमणले ३४ जना घाइते भएभने १६ जनाको मृत्यु भएको छ । सोही समयमा अर्नाको आक्रमणमा परि ४३ घाइते भएभने रन्जुकुमारी सहित ४ जनाको मृत्यु भएको छ ।