धरान : नेपाल स्काउटको सोमवार सम्पन्न धरान नगर परिषद् निर्वाचन विवादास्पद र एक पक्षीय भएको भन्दै स्काउटको एक टोलीले धरान उपमहानगरका उपमेयर आईन्द्र विक्रम बेघालाई मंगलबार ज्ञापन पत्र बुझाएको छ ।

उनीहरूले चुनाव नगराउने सरकारको निर्देशन विपरीत एक पक्षीय रूपमा निर्वाचन भएकाले निर्वाचनलाई आधिकारिकता नदिन ज्ञापन पत्रमा माग गरेका छन् ।

पूर्व जिल्ला समन्वय आयुक्त लक्ष्मण राई सहित २३ जना स्काउटरले उपमेयर बेघालाई ज्ञापन पत्र बुझाएको बताइएको छ । ज्ञापन पत्रमा प्रधानमन्त्री तथा स्काउट संरक्षक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र खेलकुद मन्त्रालयले निर्वाचन नगर्न पत्राचार गरेको अवस्थामा निर्वाचन गराएको कुरा उल्लेख छ ।

पूर्व जिल्ला आयुक्त राईले प्रधानमन्त्री प्रचण्डले माघ १७ गते निर्वाचन नगराउन निर्देशन दिएको दाबी गरेका छन् । ज्ञापन पत्रमा सरकारको युवा तथा खेलकुद मन्त्रालयको पत्रअनुसार हाल अदालतमा मुद्दा विचाराधीन रहेकोले स्काउट ऐन २०५० को दफा १४ बमोजिम निर्वाचन प्रक्रिया स्थगित गर्न संरक्षकले निर्देशन भएको उल्लेख भएको स्मरण गराइएको छ ।

मन्त्रालयको निर्देशन विपरीत गैरकानुनी रूपमा नेपाल स्काउटले माघ २१ गते निर्वाचन भएको निर्वाचन गैरकानुनी र एकलौटी रूपमा भएको हुँदा यसबाट आउने कुनै पनि नतिजा धरानका स्काउटरहरुलाई अमान्य नहुने कुरा ज्ञापन पत्रमा उल्लेख छ ।

नेपाल स्काउट कोशी प्रदेश तदर्थ समितिका सदस्य हेमन्त भण्डारीले १२ वर्षदेखि निर्वाचन नभएको बताउँदै भने, ‘धेरै ठाउँमा समिति बनेको छ ।’ सङ्घीयताको संरचना अनुसार निर्वाचन गर्ने अधिकार दिएकाले समिति निर्माण गरिएको उनले बताए ।

उनका अनुसार धरानमा ७ जना पुरुष र ७ जना महिला गरी १४ जना स्थानीय परिषद् सदस्य छनौट गरिएको छ । ३१ जना स्काउट सदस्यमा २१ मत खसको उल्लेख गर्दै प्रश्न गरे ‘कसरी एक पक्षीय भयो ?’ केही सदस्य सङ्घीयता अनुसारको संरचना बनाउन असहमत रहेकाले विवाद बढाउन खोजिएको उनले आरोप लगाए ।

भण्डारीका अनुसार नेपाल स्काउट ऐन २०५० संशोधित सहितको दफा ६ र नेपाल स्काउट नियमावली २०७७ को दफा २१ अनुसार स्थानीय परिसदको निर्वाचन भएको हो । निर्वाचनबाट धरानमा अनुप योञ्जन तामाङ, मधुसूदन घिमिरे, सूर्य कुमार सुनुवार, सुमन महतो, अनुज भट्टराई, विश्व बन्दु पोख्रेल र धन कुमार राई विजयी भएका छन् ।

महिला तर्फ सुजाता तामाङ, पुष्पा राई, अनिला पौडेल र ग्रीष्म भट्टराई चयन भएका छन् । निर्वाचित स्काउटरको कार्यकाल ४ बर्सको रहने प्रावधान रहेको छ । इटहरी र वराहक्षेत्रको पनि निर्वाचन भएको थियो । कोशी प्रदेशमा ४७ वटा पालिका समिति चयन भएको सदस्य भण्डारी जानकारी दिए ।