धरान : पानवारीको पुरानो संस्थागत विद्यालय शिक्षा सन्देश सेकेण्डरी स्कुल ३२औँ वर्षमा प्रवेश गरेको छ ।

तत्कालीन पाँचकन्या गाविस हुँदा स्थापना भएको धरान-६ पानवारी स्थित उक्त स्कुलले बिहीबार वार्षिकोत्सव मनाएको छ ।

उक्त अवसरमा प्रदेश सांसद रमेश बस्नेतले स्कुलले पाँचकन्या क्षेत्रको शैक्षिक विकासमा ठुलो योगदान पुर्‍याएको बताए । स्कुलले गरेको प्रगतिले आउँदा दिनमा पनि गुणस्तरीय शिक्षामा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

वडा ६ का अध्यक्ष भूपेन्द्र भट्टराईले अभिभावकको भूमिका विद्यालयको शैक्षिक गुणस्तरको विकास गर्न महत्त्वपूर्ण रहेको बताए ।

प्रमुख अतिथि धरान उपमहानगरपालिका शिक्षा शाखा प्रमुख गणेश प्रसाद खतिवडाले शिक्षा सन्देश स्कुलको निरन्तर प्रगतिको शुभकामना व्यक्त गरे ।

प्रिन्सिपल सुनिल सुबेदीले वार्षिकोत्सवको औचित्यमा प्रकाश पार्दै स्कुल वडा ६ को उत्कृष्ट विद्यालयमा परेको जानकारी दिँदै स्कुलमा हाल कक्षा १२ सम्ममा ७५० भन्दा बढी विद्यार्थी रहेको जानकारी दिए ।

व्यवस्थापन समिति सभापति चन्द्र बहादुर सुबेदीले स्कुलमा कक्षा ११ र १२ मा हाल व्यवस्थापन विषय सञ्चालनमा आएको बताए । उनले चाँडै विज्ञान विषयको पठनपाठन सुरु गर्ने योजना रहेको जानकार दिए ।

विद्यालयमा नयाँ प्रविधिको व्यवस्था गरी वैज्ञानिक विधिले शिक्षण गर्न व्यवस्थापन समितिले आवश्यक पूर्वादारहरू थप गर्दै जाने उनले बताए ।

कार्यक्रममा कक्षा १० की छात्रा ममता तामाङले स्वागत मन्तव्य राखेकी थिइन । सञ्चालन शिक्षिकाहरू सृजना राई र अनुशा चिमोरियाले गरेकी थिइन् । 

सांस्कृतिक कार्यक्रमको सञ्चालन कक्षा-९ का छात्रा आरुशी खत्री, गुन्जन लुइँटेलले गरेकी थिइन् । विद्यार्थीहरूले सांस्कृतिक नृत्य, शिक्षकहरूले नृत्य तथा गायन कला प्रस्तुत गरेका थिए ।

Sikshya Sandesh front

Sikshya Sandesh 3

Sikshya Sandesh 2