वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा जारी दोस्रो संस्करणको वडा स्तरीय वराहक्षेत्र मेयर लिग कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार भएको पहिलो खेलमा वडा नं. ६ विजयी भएको छ । वडा नं. ६ ले वडा नं.४ लाई एक गोलका विरुद्ध दुई गोलको अन्तरले पराजित गरेको थियो ।

चार खेलमा एक खेलमा पराजित, दुई खेलमा बराबरी र एक खेलमा विजयी भएको वडा नं. ६ ले प्रतियोगितामा ५ अङ्क जोडेको छ । त्यस्तै चार खेलमा लगातार पराजित भएको वडा नं. ४ ले प्रतियोगितामा कुनै अङ्क जोड्न सकेको छैन ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै २ गोल गरेका वडा नं. ६ का निमेष श्रेष्ठ  म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

त्यस्तै शुक्रवार भएको दोस्रो खेलमा वडा नं. २ विजयी भएको छ । वडा नं. २ ले वडा नं. ११ लाई शून्यका विरुद्ध ९ गोलको अन्तरले पराजित गरेको थियो ।

चार खेलमा दुई खेलमा पराजित, एक खेलमा बराबरी र एक खेलमा विजयी बनेको वडा नं. २ ले प्रतियोगितामा ४ अङ्क जोड्दै लिग चरणबाटै बाहिरिएको छ भने चार खेलमा लगातार सबै खेलमा पराजित बनेको वडा नं. ११ ले कुनै अङ्क नजोडी प्रतियोगिताबाट बाहिरिएको छ ।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दुई ह्याट्रिक पूरा गरी आठ गोल गरेका वडा नं. २ का दीपेश तामाङ म्यान अफ द म्याच घोषित भए । उनले नगद २ हजार १ सय सहित ट्रफि प्राप्त गरेका थिए ।

वराहक्षेत्र नगरपालिकामा पहिलो पटक गत वर्षदेखि लिग फर्म्याटमा सुरु भएको प्रतियोगितामा शनिवार पहिलो खेल वडा नं ७ र वडा नं ९ तथा दोस्रो खेल वडा नं. ४ र वडा नं. ८ का बिच हुनेछ ।

नगर खेलकुद विकास समितिको आयोजनामा वराहक्षेत्र नगरपालिका वडा नं. ७ देबिघाट स्थिति वसन्त ऋतु माध्यमिक विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको खेलकुद हाम्रो सान खेलाडी उत्पादन गर्ने हाम्रो अभियान भन्ने नारा दिएको छ ।