धरान : धरान रंगशालमा आज बिहीबार भएको २४ औँ गोधुली टेस्टी टेस्टी नुडल्स रनिङ कप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलबाट धरान-१७ फाइनलमा प्रवेशसँगै शनिवार हुने फाइनल खेल धरान-१७ र धरान-१३ बिच हुने निश्चित भएको छ ।

आज भएको खेलमा धरान-१७ ले धरान-१४ लाई ३-० गोलले पराजित गर्दै प्रतियोगिताबाट बाहिर्याउँदै फाइनल खेलमा प्रवेश गरेको छ । धरान–१३ हिजो भएको खेलमा धरान-१८ लाई ६-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

आज भएको खेलमा धरान-१७ का युनिश बुढाथोकीले खेलको ३५ मिनेटमा पहिलो गोल गरे । मिलन राईले खेलको दोस्रो हाफको ३८ मिनेट अर्को गोल गरे । कृष्ण राईले दोस्रो हाफको ४५ मिनेटमा तेस्रो गोल गरेका थिए ।

निर्धारित ९० मिनेटको खेलमा धरान-१४ बाट कुनै गोल हुन सकेन ।

खेलको म्यान अफ द म्याच धरान-१७ का युनिश बुढाथोकी घोषित भए । उनले माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरले प्रायोजन गरेको नगद २५०० सय रुपैयाँको चेक सहित जीएफएक्स रेस्टुरेन्टको ५ सय रुपैयाँको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

शनिवार हुने फाइनल खेल धरान-१७ र धरान-१३ बिच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।

गोधुली फुटबल प्रतियोगिताको विजेतालाई नगद १ लाख ५० हजार, रनिङ कप ट्रफि, मेडल पुरस्कार प्राप्त गर्नेछ । उपविजेतालाई ७५ हजार, ट्रफि, मेडल प्रदान प्राप्त गर्ने छन् ।