धरान : धरान रङ्गशालामा भएको २४ औँ अन्तर वडा गोधुली रनिङ कप फुटबल प्रतियोगिताको शनिवार भएको फाइनल खेलमा धरान-१३ ले टाइब्रेकरमा धरान-१७ लाई ५-३ गोलले पछि पार्दै रनिङ कपको उपाधि चुमेको छ।

अत्यन्तै रोचक प्रतिस्पर्धा भएको फाइनल खेल निर्धारित ९० मिनेटको अवधिमा दुवै टिमबाट १-१ गोल गरी बराबरीमा रह्यो । दुवै तर्फबाट थप गोल नभएपछि खेलमा टाइब्रेकरको निर्णय गरिएको हो ।

टाइब्रेकरमा धरान-१३ का राजीव खड्का, विपिन श्रेष्ठ, मिलन लिम्बू, दोर्जे तामाङ, विवेक राईको प्रहार गोलमा परिणत भएको थियो । धरान-१७ का मिलन राई, सबिन राई, युनेश बुढाथोकीको प्रहार गोलमा परिणत भए पनि साजन राईको प्रहार आउट भयो ।

गोधुली टेष्टी टेष्टि रनिङ कपको २४औँ विजेता बन्दै धरान-१३ ले नगद १ लाख ५० सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । धरान-१७ ले नगद ७५ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्दै उपविजेतामा चित्त बुझाउनु पर्‍यो ।

विजेता र उपबिजेताले धरान-१८ का वडा अध्यक्ष नरेन्द्र कुमार राई प्रवीणले माता पिताको नाममा दिएको पुरस्कार राशिमा २५/२५ हजार रुपैयाँ समेत प्राप्त गरे । विजेता टिमलाई प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पुरस्कार प्रदान गरे । फाइनल खेलको म्यान अफ दि म्याच धरान-१३ का दोर्जे तामाङ घोषित भए । उनले नगद ५ हजार ५ सय रुपैयाँ सहित ट्रफि प्राप्त गरे । बेस्ट प्लेयर धरान-१७ का प्रज्वल थापा बने । उनले नगद १५ हजार सहित मेडल प्रमाणपत्र प्राप्त गरे ।

धरान-१७ बाट राईजिङ प्लेयर युनेश बुढाथोकी, बेस्ट मिड फिल्डर दिवस सुनुवार र बेस्ट स्ट्राइकर  तपन राई घोषित भए । उनीहरूले नगद ५ हजार ५ सय सहित ट्रफि प्राप्त गरे ।

धरान-१३ का मिलन लिम्बुले बेष्ट स्कोरर घोषित भई नगद ७ हजार ५ सय सहित मेडल प्रमाणपत्र प्राप्त गरे । उनले खेल अवधिमा ५ गोल गरेका थिए । बेस्ट गोलकिपर धरान-१३ का मिलन घिमिरे, बेस्ट डिफेन्डर धरान-१३ का निश्चल श्रेष्ठ, बेस्ट कोच धरान-१३ का सिजन राई घोषित भए । उनीहरूले जनही ५ हजार ५ सय सहित ट्रफि प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले टिम धरान-१४ घोषित भए ।