झुम्का : सुनसरीको रामधुनीमा स्थानीय कृषि, संस्कृति, पर्यटन तथा औद्योगिक क्षेत्रलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ यहीँ फाल्गुन ४ गतेदेखि १९ गते सम्म झुम्का बजारमा रामधुनी एक्स्पाे-२०८० सुरु हुन लागेको छ ।
झुम्का उद्योग वाणिज्य सङ्घको आयोजना हुन लागेको एक्स्पाेमा कृषि, पर्यटन तथा स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरूलाई प्रदर्शन गरी विक्री प्रबन्ध मिलाउने साथै स्थानीय देखि ख्याति प्राप्त राष्ट्रिय स्तरका कलाकारबाट मनोरञ्जन गराउने वाणिज्य सङ्घका अध्यक्ष नवीन कुमार चौधरीले जानकारी दिएका छन् ।
त्यसका साथै एक्स्पाेमा कृषि आधुनिक औजार, उपकरण प्रदर्शनी, सुनसरी जिल्ला र रामधुनीका पर्यटकीय स्थलहरूको तस्बिरहरूको प्रदर्शनी, रामुधनीमा उत्पादन भएका बस्तुको स्टल राख्ने, सांस्कृतिक तथा जातीय भेषभुषाकाे प्रदर्शनी गर्ने, अटाेमाेबाइल तथा इलेकट्रोनिक समानको प्रदर्शनी लगायत फुटवेयर गार्मेन्ट र बैङ्किङ संस्थाहरूको स्टल रहने अध्यक्ष चौधरिले बताएका हुन् ।
हाल व्यापार, व्यवसाय शिथिल रहेको, आर्थिक मन्दीले व्यापारीलाई निराशा बनाइरहेको अवस्थामा झुम्का बजारमा फागुन ४ गतेदेखि १९ गते सम्म रामधुनी एक्स्पाेले करिब ५० लाख बराबरको कारोबार हुने र व्यापार, व्यवसाय थप चलायमान हुँदा व्यवसायीमा केही राहत समेत पुग्ने आयोजकले जानकारी दिएको छ ।








































































