इटहरी : कोसी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शमशेर राई आइतबार सेवाग्राही बनेर यातायात कार्यालयको ट्रायल सेन्टर अनुगमनमा पुग्दा यातायात कार्यालयका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईँले ठुलो स्वरमा ‘तपाईँ को हो यहाँबाट गइहाल्नुहोस्’ भन्दै कड्किए धकेल्ने कार्य सम्म गरे ।

टाउकोमा क्याप, अनुहारमा कालो चश्मा र मुखमा कालै मास्क लगाएर मन्त्री राई सेन्टर पुगेका थिए । सँगै रहेका सचिवालयका कर्मचारीहरूले पनि औपचारिक पोसाक लगाएका थिएनन् । मन्त्री राई पुग्दा ट्याम्पो र सिट सफारीको ट्रायल भइरहेको थियो ।

मन्त्री कर्मचारी भएको ठाउँमा पुगे । त्यहाँ ट्राफिक प्रहरीका सई पनि थिए । नचिनिँदो गरी त्यहाँको गतिविधि नियाल्न थाले । त्यही क्रममा यातायात कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्रप्रसाद प्रसाईँ मन्त्रीको नजिकै आए र ठुलो स्वरमा ‘तपाईँ को हो यहाँबाट गइहाल्नुहोस्’ भन्दै कड्किए । मन्त्री राई केही पर सरे । फेरि चुपचाप लागिरहे ।

हाफ भेष्ट, हाफ ज्याकेट कालो चश्मा र मास्क लगाएका यातायातका कर्मचारी ट्राफिक बस्ने छेउमै गएर उभिँदा उनलाई कसैले चिनेनन् । मन्त्रीका पिएसओ पनि सादा पोसाकमा थिए । मन्त्री झन्डावाला नलिएर अर्कै गाडीमा गएका थिए । केही बेर उभिएपछि मन्त्री राईलाई ट्राफिक प्रहरीले हट्न भने।

तर उनले अटेर गरेर बसेपछि प्रहरीले यहाँ बस्न पाइँदैन भनेर धकेलेर त्यहाँबाट हटाउन खोजेका थिए । त्यसपछि उनले मास्क खोले । कर्मचारीहरूले उनलाई चिनेर कुर्सीमा बस्न आग्रह गरे । मन्त्री राईले भने ‘सेवाग्राही  भएर जाँदा मलाई त प्रहरीले ठेललाल गरे, सोझा साझाले सजिलै सेवा पाउँदैन भन्ने देखेर आएँ ।’ उनले थप अनुगमन गरेर नागरिकलाई सहज हुने वातावरण बनाउने बताएका छन् ।

मन्त्री राईका अन्सार ट्रायलमा फेल पास ठाउँको ठाउँ गर्नुपर्ने व्यवस्था बने पनि कर्मचारीले त्यसो नगरेको पाइएको छ । उनले भने ‘ट्राफिकले  फेल पास भन्दो रहेछ, कर्मचारीले भर्ने फारम भने खालि नै राख्दा रहेछन्, यसले आर्थिक चलखेल हुन्छ भन्ने देखाएको छ ।’

यातायात व्यवस्था कार्यालय इटहरीका निमित्त प्रमुख चन्द्र प्रसाद प्रसाईँले भने यातायात कार्यालयमा बिचौलिया प्रवेश गर्ने नदिएको बताए । भीड हुने गरेकाले फेल पासको उति नै बेला नलेखेको उनको भनाई छ । भने ‘त्रुटि नहोस् भनेर पछि लेख्ने गरिएको छ ।’

इटहरी कार्यालय महिनामा पाँच पटक ट्रायल गराउने गर्दछ । त्यसमा हलुकादेखि ठुला सवारी साधनको पनि ट्रायल गराइन्छ । एक पटकमा डेढदेखि दुई सयसम्मले ट्रायल दिन्छन् । बायो मेट्रिक भएको चार दिनमा ट्रायल हुन्छ ।

trail-itahari-2