विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार र व्यवसायी साझेदार नभएको नयाँ धारणा प्रकट गरेका छन् । सरकार र निजी क्षेत्र साझेदारीका कुरा पटकपटक दोहोरिने गरेको सन्दर्भमा उनले आफ्नो फरक धारणा रहेको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको छैटौँ प्रदेश सभामा उनले निजी क्षेत्रका व्यवसायी सरकारको अङ्ग भएको बताउँदै भने, ‘सरकार र व्यवसायी एक रथका दुई पाङ्ग्रा हुन् ।’ साझेदार छुटिएर जान सक्छ तर पाङ्ग्रा छुटिदा रथ चल्न नसके जस्तै सरकार पनि चल्न नसक्ने उनले बताए ।

कर बिना सरकार चल्न नसक्ने भएकोले व्यवसायी डुब्यो भने सरकार चल्न नसक्ने उनले जिकिर गरे । उनले भने, 'बैङ्क डुब्यो भने रोजगारी पाउने अवस्था हुँदैन त्यसैले कोशी सरकारले उद्योगी व्यवसायीलाई प्रोत्साहन गर्नका लागि योजना कार्यान्वयनमा ल्याउन लागेको छ ।'

प्रदेशको उद्यमशीलतालाई अगाडि बढाउन उद्योग दर्ता सम्बन्धी नियमावली ल्याएर प्रदेशबाट नै उद्योग दर्ता, नवीकरण लगायतको काम सुरु भइसकेको मुख्यमन्त्री कार्कीले बताए ।

उनले अलैँचीको व्यापार भारत मात्रै होइन तेस्रो मुलुक निकासीका लागि प्रक्रिया अगाडि बढेको बताउँदै कुनै पनि विषयमा दुःख दिने खालको निकास नखोजौँ, भारतमा मात्रै अलैँची निकासी गर्दा मूल्यमा कमी आएको बेला यहाँका किसानलाई घाटा व्यहोर्नु पर्ने बताए ।

मुख्यमन्त्री कार्कीले औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन सुरु गरेको बताउँदै व्यवसाय प्रवर्धनका लागि सरकारले बनाउने नीतिमा दिगो विकासको अवधारणा अनुसार बनाउने स्पष्ट गरे ।

Mukhyamantri karki 2 4