इटहरी : इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले माओवादीको जनयुद्ध दिवसको अवसरमा इटहरीमा रहेका एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने  निर्णय गरेका छन् ।

मङ्गलवार नेकपा माओवादी केन्द्रको पदाधिकारीहरू सँग एक सय द्वन्द्व पीडित घर परिवारको निःशुल्क स्वास्थ्य बिमा इटहरी सरकारले गर्ने मेयर पौडेलले निर्णय गरेका हुन ।

जनयुद्ध दिवसको अवसरमा तत्काल लागु हुने गरी यही आर्थिक वर्षमा कुनै संस्था मार्फत इटहरीमा भएका एक सय द्वन्द्व पीडित घर परिवारलाई निःशुल्क स्वास्थ्य बिमा गर्न चार लाख रकम दिने निर्णय गरेका छन् ।

'इटहरी क्षेत्रमा बसोबास गर्दै आएका पीडित घाइतेहरूको निःशुल्क बिमा गर्ने गरिदिने छु' मेयर पौडेलले भने । आफ्ना नगरमा भएको इटहरी नगर क्षेत्रमा बसोबास गर्ने परिवारको बिमा गरिदिने पौडेलको भनाई छ।

माओवादीको जनयुद्धमा पीडित बनेकाहरूको निःशुल्क बिमा गरिदिने मेयरको भनाई  प्रति माओवादीका इटहरी नगर अध्यक्ष बहादुर तामाङले आफूहरू अत्यन्तै खुसी भएको  प्रतिक्रिया दिए। हामी पीडितहरूको नाम तयार गरेर मेयर सँग बुझाउने छौँ तामाङले भने ।