विराटनगर : विराटनगर स्थित जेनिथ इन्टरनेशनल कलेजले उद्योगी भीम घिमिरेसहित ६ जनालाई सम्मान गरेको छ ।

वार्षिकोत्सवका अवसरमा कलेजले नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष समेत रहेका घिमिरे सहित ब्रह्माकुमारी राजयोगकी ब्रह्माकुमारी गीता ख्वाखली, शिक्षासेवी सहप्राध्यापक राधेश्याम राठीलाई सम्मान गरेको हो । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठलाई पनि कलेजले सम्मान गरेको छ । यसैगरी कलेजका शिक्षक प्रा.डा. नन्दलाल साह र सहप्राध्यापक प्रदीप कुमार दुबे पनि सम्मानित भएका छन् ।

उनीहरू सबैलाई पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादवराज कोइराला र कलेजका कार्यकारी अध्यक्ष प्रा.डा. दुर्गानन्द चौधरीले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए । उद्योग, समाजसेवा र शैक्षिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुराएबापत उनीहरूलाई सम्मान गरिएको कलेजका निर्देशक एफसीए अश्विनी वंशलले जानकारी दिए ।

त्यस्तै २०८० सालमा भएका विभिन्न खेलकुद प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको थियो । विद्यार्थीहरूले सांस्कृतिक नृत्य र गीतसमेत प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उपकुलपति प्रा.डा. कोइराला, रजिष्टार निलमणि पोखरेल, डिन डा. श्रेष्ठ, सहडिन सोनिला शाक्य, डिन कलेजका कार्यकारी अध्यक्ष चौधरीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कलेजमा ३ सय विद्यार्थी अध्ययनरत छन् ।