इटहरी : फागुन ७ गते अर्थात प्रजातन्त्र दिवसको अवसरमा आयोजित एक समारोहमा सङ्घीय प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले पूर्वका प्रेस स्वतन्त्रता सेनानीहरूले सम्मानित गरेकी छन् ।

नेपाल पत्रकार महासङ्घद्वारा विभिन्न वर्षमा ‘प्रेस स्वतन्त्रता सेनानी सम्मान’ प्रदान गरेका पूर्वका अग्रज पत्रकारहरू मध्ये उपस्थित ७ जनालाई प्रदेश खबर अनलाइन पत्रिकाको प्रथमा वार्षिकोत्सवमा सम्मानित गरिएको हो ।

सम्मान कार्यक्रममा चन्द्र भण्डारी, हर्ष सुब्बा, कौशल चेम्जोङ, कृष्णविनोद लम्साल, कृष्ण आचार्य, शिवबहादुर कार्की, सञ्जय सन्तोषी राई उपस्थित थिए ।

सोही अवसरमा उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार प्रदीपराज वन्त, साहसिक पत्रकारिता पुरस्कार किशोर बुढाथोकी, उत्कृष्ट पत्रकारिता पुरस्कार सुरेन्द्र भण्डारी, टीका खतिवडा र सृजनशील पत्रकारिता पुरस्कार विवेक विवश रेग्मीलाई प्रदान गरियो । उनीहरूलाई जनही नगद पुरस्कार ११ हजार १५१ रुपैयाँ प्रदान गरिएको हो ।

साथै पर्यटन व्यवसायी नारायण पौडेल र दीपक थापालाई सम्मान गरियो । नयाँ पत्रिका दैनिकका संवाददाता आरबी कटुवाल र पत्रपत्रिका विक्रेता लेखराज श्रेष्ठलाई पनि सम्मानित गरिएको थियो ।

उक्त अवसरमा उपसभामुख रानाले पत्रकारिता, लोकतन्त्र र स्वतन्त्रता एक अर्काको परिपूरक भएको बताउँदै आफूले जेलभित्र बसेर काम गरेको अनुभव रहेका कारण पनि पत्रकारहरूसँग नजिक रहेको बताइन् । अहिलेको पत्रकारिता देशमा व्याप्त भ्रष्टाचार विरुद्ध केन्द्रित हुनुपर्नेमा उनले जोड दिइन् ।

पत्रकार महासङ्घका केन्द्रीय सदस्य अमर खड्काले सम्मानित वरिष्ठ पत्रकारहरूको नेपालको प्रेस स्वतन्त्रता आन्दोलनमा गरेका महत्त्वपूर्ण भूमिकाको चर्चा गर्दै पत्रकारितामा अहिले पनि क्रियाशील उनीहरू नयाँ पुस्तका लागि प्रेरणा श्रोत भएको बताए ।

प्रदेश खबरका अध्यक्ष पवन अधिकारीले प्रेस स्वतन्त्रता सेनानी सम्मान पाएका वरिष्ठ पत्रकारहरूलाई सम्मान गरिएको र हाल क्रियाशील रहेका पत्रकारहरूलाई पुरस्कार प्रदान गर्दै प्रोत्साहित गरेको बताए ।  अनलाइन नयन एड्भरटाइजिङ मिडिया प्रालि द्वारा सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानीद्वय हर्ष सुब्बा र चन्द्र भण्डारी, अनलाइन पत्रकार सङ्घका अध्यक्ष डिल्ली सापकोटा, पुरस्कृत सुरेन्द्र भण्डारी, प्रेस सेन्टरका उपमहासचिव राजन केडी, प्रेस युनियन कोशीका महासचिव सञ्जीव वाग्ले, प्रेस चौतारीका त्रिलोचन पौडेल, प्रेस युनियन सुनसरीका सचिव बाबुराम कार्की लगायतले शुभकामना प्रकट गरेका थिए ।

Harsha-Subba