धरान : धरान-८ सिरिजंगा चौक कोशी राजमार्ग र मदन भण्डारी राजमार्गको चौरस्ता बन्दै छ । त्यही ठाउँमा सुनसरी जिल्ला ट्राफिक कार्यालयको भवन बनाउन उपयुक्त हुने माग गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धरानबाट गएको प्रतिनिधि मण्डलले काठमाडौँमा मङ्गलवार ज्ञापन पत्र बुझाएको छ ।

धरानमा रहेको सुनसरी जिल्ला ट्राफिक कार्यालयको भवन बनाउन जग्गाको खोजी भइरहेको र जग्गा नपाए भवन बनाउने योजना धरान बाहिर जाने सम्भावना भएकोले धरानका राजनीतिक दलहरू, सङ्घ, संस्थाहरूले उक्त माग गरेका हुन् ।

त्यहाँ लाङ्घाली सामुदायिक वन क्षेत्रको जमिन मुख्य दुई राजमार्गकोको मिलन बिन्दु रहेकोले ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण गरिए ट्राफिक व्यवस्थापन, राजमार्ग सुरक्षा, सवारी दुर्घटना न्यूनीकरणका साथै वन क्षेत्र र वन्यजन्तुको सुरक्षाको लागि उपयुक्त हुने ज्ञापन पत्रमा उल्लेख छ ।

सामुदायिक वन उपभोक्ता समिति, धरान उपमहानगरपालिका, वडा ८ कार्यालय, सहमति सहितको सिफारिस र ट्राफिक प्रहरी कार्यालय सुनसरीले अनुरोध गरेको पत्र, जिल्ला सुरक्षा समिति सुनसरीले पनि उपयुक्त हुने भनी लिखित राय यसअघिकै सम्बन्धित निकायमा पेस भइसकेको ज्ञापन पत्रमा स्मरण गराइएको छ ।

भनिएको छ, ‘उक्त ठाउँमा ट्राफिक प्रहरी कार्यालयको भवन निर्माणका लागि आवश्यक स्वीकृति दिनु हुन र जग्गा प्राप्तिका लागि वन मन्त्रालयमा आवश्यक प्रक्रिया तथा पहल गरिदिनु अनुरोध गर्दछौँ ।’ ज्ञापन पत्रमा जिल्ला ट्राफिक प्रहरी कार्यालय धरानबाट बाहिर लैजाने निर्णय नगर्न पनि आम धरानवासीको माग रहेको उल्लेख छ ।

धरानबाट अनेक बहानामा सरकारी कार्यालयहरू अन्यत्र लैजाने गरिएको कुरा ज्ञापन पत्रमा उल्लेख छ । धरान-चतरा-भीमनगर रेल सेवा २०३० सालमा बन्द गरिएको थियो । प्रमाणपत्र तहको चिकित्सा अध्ययन प्रतिष्ठान २०३५ सालमा काठमाडौँ सारियो ।

क्षेत्रीय शिक्षा निर्देशनालय २०३८ सालमा धनकुटा लगियो । राष्ट्रिय वाणिज्य बैङ्क क्षेत्रीय कार्यालय २०४४ सालमा विराटनगर सारियो । अञ्चल अदालत (हाल उच्च अदालत) २०४९ सालमा विराटनगरमा सरियो । कोशी बेसिन कार्यालय २०५० सालमा विराटनगर सारियो ।

ब्रिटिस घोपा क्याम्प २०५० सालमा पोखरा गयो । कृषि विकास बैङ्क क्षेत्रीय कार्यालय २०५७ सालमा विराटनगर सारियो । कोशी अञ्चल यातायात व्यवस्था कार्यालय र सवारी चालक अनुपत्र वितरण कार्यालय २०६३ सालमा इटहरी सारियो । क्षेत्रीय खाद्य प्रयोगशाला २०६६ सालमा विराटनगर सारियो ।

उक्त उदाहरणहरूले ट्राफिक प्रहरी पनि धरानबाट बाहिर लैजाने सक्ने भएकाले ट्राफिक प्रहरी भवन निर्माण गर्न जग्गा खोज्ने र उपयुक्त ठाउँमा जग्गा प्रातको लागि प्रक्रिया अघि बढाउने पहल धरानका क्रियाशील राजनीतिक दलहरू, सरोकारवाला सङ्घ संस्थाहरूले गर्दै आएको ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापन पत्रमा नेपाली काँग्रेसका सभापति श्याम पोख्रेल, नेकपा एमालेका उपाध्यक्ष पारस काङमाङ, नेकपा माओवादी अध्यक्ष मनोज भट्टराई, जसपा अध्यक्ष ताजुब लिम्बू, रास्वपा अध्यक्ष सुमन श्रेष्ठ, राप्रपा स.योजक नरेश शाक्य, नेकपाएस अध्यक्ष रेवती रमण राई, नागरिक उन्मुक्ति पार्टी इन्चार्ज देउमान लिम्बु, सलोराम लिम्बुवान मञ्चका अध्यक्ष मोहन तिगेलाले हस्ताक्षर गरेका छन् ।

साथै कोशी प्रदेश सांसद यशोदा कायस्थ, उद्योग वाणिज्य सङ्घ सुनसरी अध्यक्ष विजय श्रेष्ठ, पूर्व मेयरद्वय तिलक राई, मनोज मेन्याङबो, यातायात व्यवसायी सङ्घ कोशी संयोजक सरोज श्रेष्ठ, पूर्व उपमेयर मञ्जु भण्डारी, माओवादी केन्द्रीय सदस्य मुक्साहाङ मेन्याङ्बो लगायतले हस्ताक्षर गरेका छन् ।

Dharan Maag Patra 2

Dharan Maag Patra 3