धरान : यसपालि हुने धरान १०-के रन खुल्ला दौड प्रतियोगितामा ‘गोर्खा वारियर’ चलचित्रका नायक रितेस चाम्स राई र मोडेल नीति शाह पनि सहभागी हुने भएका छन् ।

धरान रनद्वारा आयोजना नेवा च्यारिटि दौड प्रतियोगिता फागुन १२ गते हुँदै छ । दौडमा नायक, मोडेल सहित चलचित्रका निर्देशक मिलन चाम्स, गोर्खा ब्रीग्रेड ब्यान्ड सहित टिम नै सहभागी हुने आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष रामु राईले जानकारी दिए ।

उनका अनुसार दौडमा धरान उपमहानगरपालिकाका मेयर, उपमेयर सहित २० वटै वडा अध्यक्ष सहित २२ जनप्रतिनिधिहरूले नाम दर्ता गराएका छन् । दौडमा ३ हजार ६ सय धावक धाविकाहरू सहभागी हुने उनले बताए ।

दौडमा व्हिल चेयर रेस पनि हुनेछ । सबै धावक धाविकालाई दौडको सही समय मापन गर्न जुत्ताको लेसमा चिप टाइमिङ सिस्टम प्रयोग गरिने छ । उनका अनुसार चिप सिस्टममा प्रत्येक धावक, धाविकामा लगाइन्छ र यसले धावकले कति समयमा कति दुरी पुरा गरेको हो त्यसको सही मापन देखाउने छ ।

धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईले जनताले चुनेका जनप्रतिनिधिहरू पनि स्वास्थ्य रहनु पर्छ भनी सन्देश दिन जनप्रतिनिधिहरूको छुट्टै प्रतिस्पर्धा गराइने बताए । दौडमा एकै समूहमा भए पनि जनप्रतिनिधिहरूको छुट्टै नतिजा निकालिने छ ।

विजेता जनप्रतिनिधिको वडालाई १२औ नेवा च्यारिटि रन च्याम्पियन रनिङ शिल्ड प्रदान गरिने छ । वडाध्यक्ष, मेयर, उपमेयरलाई निःशुल्क, वडा सदस्यहरूलाई सशुल्क फर्म उपलब्ध गराई २२ जनाले फारम दर्ता गराएका उनले बताए ।

धरान रन समूह २०६७ मा स्थापना भई २०६८ सालमा दर्ता भएको हो । रनले हरेक शनिवार यलम्वर पार्कमामा ३ किमी दौड गराउँदै आएको छ ।

यसपालिको खुल्ला दौडमा राष्ट्रिय अन्तर्राष्ट्रिय धावक धाविकाहरू सहभागी हुने बताइएको छ । प्रतियोगीताका विजेताले खुला तर्फ महिला र पुरुषले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

१२ वर्ष मुनिका, १६ वर्ष मुनिका र ४० वर्ष माथिका महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने छ ।

६० वर्ष माथिका सुपर भेट्रानका विजेता महिला पुरुषले जनही नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ । धरान रनमा गत वर्ष ३ हजार ५ जना धावक, धाविकाहरूले सहभागी थिए ।