धरान : धरान रनद्वारा आयोजना हुने नेवा च्यारिटि १०-के रन यसपालि फागुन १२ गते हुने भएको छ । दौडमा यसपालि ४ हजार धावकहरू सहभागी हुने अनुमान गरिएको छ ।

धरान रनका संस्थापक अध्यक्ष सन्तोष राईले बिहीबार आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । यसपालि जनताले चुनेका जनप्रतिनिधिहरू पनि स्वास्थ्य रहनु पर्छ भनी सन्देश दिन जनप्रतिनिधिहरूको छुट्टै प्रतिस्पर्धा गराइने उनले बताए ।

उनले भने, ‘दौडमा एकै समूहमा भएपनि जनप्रतिनिधिहरूको छुट्टै नतिजा निकालिने छ ।’ विजेता हुने जनप्रतिनिधिको वडालाई १२औ नेवा च्यारिटि रन च्याम्पियन वडा घोषण गरिने अध्यक्ष राईले बताए ।

वडालाई विशेष ट्रफिको व्यवस्था सँगै विजेता खेलाडीलाई विशेष पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाको छ । धरान उपमहानगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष र वडा सदस्य गरी १०२ जना जनप्रतिनिधिहरू छन् ।

वडाध्यक्ष, मेयर, उपमेयरलाई निःशुल्क तथा वडा सदस्यहरूलाई सशुल्क फर्म उपलब्ध गराइने छ । फर्म भरेकाहरूलाई टिसर्ट, टाइम चिफ, मेडल, प्रमाणपत्र, पानी र जुस उपलब्ध गराइने छ ।

धरान रन समूह २०६७ मा स्थापना भई २०६८ सालमा दर्ता भएको हो । रनले हरेक शनिवार यलम्वर पार्कमामा ३ किमि दौड गराउँदै आएको छ ।

यसपालि पनि दौडमा राष्ट्रिय अन्तर्राष्ट्रिय धावक धाविकाहरू सहभागी हुनेछन् । प्रतियोगीताका विजेताले खुला तर्फ महिला र पुरुषले जनही नगद ६० हजार, दोस्रोले ४० हजार र तेस्रोले २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

१२ वर्ष मुनिका, १६ वर्ष मुनिका र ४० वर्ष माथिका महिला पुरुष विजेताले जनही नगद ७ हजार, ५ हजार, ३ हजार, मेडल र प्रमाणपत्र पाउने छ । ६० वर्ष माथिका सुपर भेट्रानका विजेता महिला पुरुषले जनही नगद ५ हजार, मेडल र प्रमाणपत्र पाउने छ । धरान रनमा गत वर्ष ३ हजार ५ जना धावक, धाविकाहरूले सहभागी थिए ।