धरान : पूर्वी नेपालका आदिवासी लिम्बू समुदायको संस्कार, संस्कृतिको कथामा बनेको नेपाली चलचित्र ‘सुगुप’को धरानमा विशेष प्रदर्शन फागुन १९ देखी २१ गते सम्म फ्रेण्डस् सिनेमा हलमा हुने भएको छ ।

‘सुगुप’ लिम्बु जातिको संस्कारमा सुत्केरी हुँदा प्रसव पिडामा छटपटीएर मृत्यु भएकी महिलाको भड्किएको आत्माजन्य मिथकको कथा मानिन्छ ।

‘सुगुप’का कलाकार, धरानमा प्रिमियर शो का संयोजक तीर्थ मादेम्बाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार चलचित्रको यसअघि यस अघि हङकङमा प्रिमियर प्रदर्शन भइसकेको छ ।

हङकङका नेपाली दर्शक पछि फागुन १२ र १७ गते काठमाण्डौमा प्रिमियर प्रदर्शन हुँदैछ । चोकफुङ ईन्टरटेनमेन्ट प्रालीको ब्यानरमा बनेको ‘सुगुप’को निर्देशन लोकेन साँवाले गरेका हुन । पटकथा देबेन्द्र खापुङले लेखेका हुन ।

लिम्बु जातिको मुन्धुममा सुत्केरी अवस्थामा महिलाको मृत्युमा गरिने अन्तिम संस्कार सुगुप नै चलचित्रको मुख्य कथावस्तु भएको कलाकार मादेम्बाले बताए।

हङकङका युवा व्यवसायी रबिन कुमार नाल्बोले निर्माण गरेको ‘सुगुप’मा दिलमाया लाबुङ नाल्बो र शैलेन्द्र कुमार नाल्बो सह-निर्माता हुन ।

नेपाली चलचित्रका वरिष्ठ अभिनेता प्रेम सुब्बा, चर्चित कलाकार मौसम ईम्बुङ लिम्बू ‘फुलेन्देको बाउ’, र बबिता नेयोङहाङको मुख्य भूमिका रहेको छ । यासेली योङहाङ, सुम्निमा खापुङले यस चलचित्रबाट डेब्यु गरेकी छन् ।

छायाङ्कन युवराज राई, सम्पादन विपिन मल्ल सङ्गीत अशोक राईको रहेको ‘सुगुप’मा कमल राईको नृत्य, किशोर सम्बाहाङफेको द्वन्द्व निर्देशन रहेको छ ।