धरान : धरानमा एयरपोर्ट निर्माणको अध्ययन गर्ने भनी उड्डयन प्राधिकरणबाट आएको टोलीले पुरानै प्रतिवेदनको आधारमा नकारात्मक रिपोर्ट बुझाउन तयारी गरेको छ ।

उक्त प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाइने छ । सम्भवतः बुझाइसकेपछि प्रतिवेदन सार्वजनिक गरेर धरानमा एयरपोर्ट बनाउन व्यवसायीक रूपमा उपयुक्त नभएको भनी सधैँका लागि यो विषयलाई बिर्को लगाउने प्रयास हुनेछ ।

धरानमा एयरपोर्ट बनाउने भनी २० वर्षको अवधिमा ३ वटा सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको कार्यकालमा अध्ययन भएको हो । पछिल्लो पटक बर्तमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले अध्ययन समिति गठन गराएका थिए ।

साता अघि मात्र प्राधिकरणका तीन जना कर्मचारी धरानमा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न आएका थिए । उक्त समितिले धरानमा बन्न सक्ने तर सञ्चालन हुन नसक्ने निष्कर्ष सहितको प्रतिवेदन तयार गरेको प्रतिवेदन बुझाउन अघि नै मिडियामा सार्वजनिक भएको छ ।

प्रतिवेदनमा सानो क्षमताका जहाजको उडान र अवतरण गर्न सक्ने एकतर्फी धावनमार्गको विमानस्थल निर्माण गर्न सकिने तर त्यसलाई सञ्चालन भने गर्न नसकिने निष्कर्ष प्रतिवेदनमा छ ।

साना जहाजको उडान तथा अवतरण गर्न सक्ने क्षमताको विमानस्थल बन्न सक्ने निचोड निकालेको भए पनि सञ्चालन हुन सक्ने आधार नभएकोले कुनै पनि दृष्टिकोणबाट उपयुक्त नदेखिएको समितिको निष्कर्ष प्रतिवेदनमा रहेको बताइएको छ ।

अध्ययन टोली यसपालि धरान आउँदा मेयर हर्क साम्पाङलाई हवाई नीति २०६३ ले निकटस्थ विमानस्थलबाट नयाँ विमानस्थल बनाउँदा तराईमा ४० नटिकल माइल ९७४ किमी हुनुपर्ने प्रावधान तोकेको स्मरण गराएका थिए ।

हिमाली र पहाडी क्षेत्रमा २० नटिकल माइल ९३७ किमीको दूरीमा अर्को विमानस्थल बनाउन सकिने उल्लेख भएकाले हवाई नीति विपरीत धरानमा विमानस्थल बनाउन नसकिने कुरा पनि समितिले उल्लेख गरेको मिडियामा आएको छ ।

यसअघि गत: कात्तिक २१ मा धरानका मेयर हर्क साम्पाङले विमानस्थल निर्माण गर्न प्रक्रिया अगाडि बढाइदिन आग्रह गर्दै पर्यटन मन्त्री किराँतीलाई पत्र लेखेका थिए । त्यही आधारमा मन्त्री किराँतीले फेरी सम्भाव्यता अध्ययन गर्न लगाएका हुन् ।