धरान:लामो समयदेखि अन्योलग्रस्त बनेको धरानको प्रस्तावित एयरपोर्टबारे अध्ययन गर्न धरान उपमहानगरपालिकाले एक समिति गठन गर्ने भएको छ ।

उक्त समितिले अहिलेसम्म धरान १७ स्थित डाँडाघोपामा किन एयरपोर्ट बन्न नसकेको भन्न वास्तविकता खोतलेर जनतासामु प्रष्ट पार्ने कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । आगामी आर्थिक बर्षको नीति, कार्यक्रम तथा बजेट पारित भएकोबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले आगामी कार्यपालिका बैठकबाट समिति गठन गर्ने पनि बताइन् । यो समितिले एयरपोर्टबारे हालसम्म भएको प्रयास, सर्वे र फाइल कहाँ पुगेर किन अड्किएको हो भन्नेसम्म अध्ययन गर्ने उनले बताइन् । ‘एयरपोर्ट बन्छ भने बन्छ र, बन्दैन भने बन्दैन भनेर स्पष्टरुपमा जनतालाई भन्न सकेको छैनौं, वास्तविकता के हो ? बन्ने नै हो भने प्रक्रिया किन अड्किएको हो ? त्यहाँ बनाउनै सम्भव नभएको हो भने पनि टुंग्याएर अन्य विकल्प पनि खोज्नुपर्छ,’उनले भनिन् ।

धरानमा एयरपोर्ट निर्माण गर्न भन्दै स्थानीयबासीले २०६० तिर ज्यादै सस्तो मुल्यमा जग्गा यति इन्कर्पोरेट प्रालिलाई बेचेका थिए । जग्गा यतिलाई बिक्री गर्दा पनि तत्कालिन नगरपालिका साक्षी बसेर निर्माण कार्य प्रारम्भ नभए वा नबने किनेकै मुल्यमा प्रालिले जग्गाधनीलाई जग्गा फिर्ता गर्ने लिखित सहमति भएको थियो । झण्डै डेढ दशक बितिसक्दा पनि एयरपोर्ट बन्ने संकेत नपाएपछि ती जग्गाधनीहरुले जग्गा फिर्ताको माग गर्दै आएका छन् । नागरिक उड्यान प्राधिकरणले पटक पटक सर्वेक्षणको नाममा करोडौं खर्च गरिसकेको छ, तर धरानमा एयरपोर्ट बन्न सम्भावना छ कि छैन भन्ने प्रष्ट पारेको छैन ।

यस्तै, प्रस्तावित एयरपोर्ट क्षेत्रमा उपमहानगरपालिकाले बाटो निर्माण, घरनक्सा पासलगायत प्रक्रियाहरु पनि रोकीराखेको छ । यसले जनताहरुले दुःख पाएका छन् । ‘एयरपोर्ट बन्छ भनेर नै त्यो क्षेत्रमा हामीले घरनक्सा, बाटो लगायतको काम रोकेका छौ, यसरी त कहिलेसम्म जनताको काम अड्काएर बस्नु ? त्यसैले बन्छ कि बन्दैन भनेर प्रष्ट हुनलाई पनि अध्ययन समिति बनाउने भनेको हो,’कार्यवाहक मेयर भण्डारीले भनिन् । यो समितिले नागरिक उड्यान प्राधिकरणसम्म नै पुगेर वास्तविकता पत्ता लगाउने बताइएको छ । ‘हामीले आवश्यक बजेट छुट्याएका छौं, त्यहाँका जनतालाई धेरै अन्योलमा राख्नुहुन्न भनेर यसो गर्न लागिएको हो,’उनले भनिन् ।