धरान : १२औँ धरान १०-के रनको उपाधि कन्याली धावक जुलियस मुरिउकी र महिला तर्फ सन्तोषी श्रेष्ठले चुमेकी छन् ।

पुरुष विजेता अफ्रिकी मुलुक केन्याका धावक हुन । महिला विजेता श्रेष्ठ दक्षिण एसियाली म्याराथनकी स्वर्ण पदक विजेता हुन । उनले पोखरा अन्तर्राष्ट्रिय हाफ म्याराथनकी विजेताको पदक पनि हासिल गरेकी छन् ।

शनिवार बिहान भएको नेवा च्यारिटी रनको १० किलोमिटर दूरी मुरिउकीले ३२ दशमलव ५० मिनेटमा पुरा गरेका हुन । उनले उपाधिसँगै ६० हजार रुपैयाँ प्राप्त गरे ।

सन्तोषीले ३८ दशमलव ८ मिनेटमा उक्त दूरी पुरा गरेकी थिइन् ।

यसअघि १० किलोमिटर दौडमा मुरिउकीले सन २००७ मा २८ दशमलव ४९ मिनेट, २००८ मा २९ दशमलव ९ मिनेट र सन २०१० मा २९ दशमलव १३ मिनेट रेकर्ड बनाएका थिए ।

टाइमिङ चिप सिस्टममा दौडिएका ३ हजार ६ सय धावकले धरानको १० किलोमिटर दूरी पार गरे ।

भानुचोकबाट बिहान ७ दशमलव ३० मिनेटमा सुरु भएको दौड ३४ मिनेटमा पुरा गरेर प्रशान्त तामाङ दोस्रो बने । उनले मेडलसँगै ४० हजार रुपैयाँ प्राप्त गरे ।

तेस्रो बनेका पवन राईले ३४ दशमलव ११ मिनेटमा निर्धारित दूरी पुरा गरेका थिए । उनले ट्रफी, मेडलसँगै ३० हजार रुपैयाँ प्राप्त गरे ।

स्पर्धामा ह्वील चियर दौडसँगै १६ देखि ३९ वर्ष उमेर समूहमा खुल्ला दौड आयोजना गरिएको थियो । जसका विजेता महिला पुरुष दुवै विधामा प्रथम, दोस्रो, तेस्रो हुनेले जनही क्रमशः ६० हजार, ४० हजार र ३० हजार रुपैयाँ प्राप्त गरे ।

१२ देखि १५ वर्ष उमेर समूहका धावकले महिला पुरुष दुवै विधामा जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे ।

४० वर्षमाथिका भेट्रान समूहमा दौडने महिला पुरुष दुवैले जनही क्रमशः ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ प्राप्त गरे ।

यसपालिको च्यारेटी रनबाट उठेको रकम सामुदायिक विद्यालयका १२ जना जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति स्वरूप प्रदान गरिने भएको छ ।

जनप्रतिनिधि तर्फबाट धरान रनको विजेता धरान वडा १० का अध्यक्ष विवेक राई घोषित भए ।

गायक राजु लामा, मोडल नायिका नीति शाह सहित गोर्खा वरियर फिल्मको टिम दौडामा सहभागी थियो ।

12th-dharan-female-category