धरान : धरान उपमहानगरपालिकाको आज दिउँसो १ बजे बस्ने भनेको नगरसभामा प्रस्तुत हुने बजेटमा गरिने रकमान्तर सम्बन्धमा कार्यपालिका बैठकमा विवाद हुँदा अहिले १ बजे सम्म प्रस्तावित संशोधन बजेट पारित हुन सकेको छैन ।

बैठकमा मेयर साम्पाङ र उपमेयर बेघा सहित वडा अध्यक्षहरूसँग चर्काचर्की परेपछि बिहान ८ बजे बसेको बैठक स्थगित भएको छ ।

मङ्गलबार बिहान कार्यपालिका बैठक लगत्तै मेयर हर्क सम्पाङले दिउँसो १ बजेको लागी नगरसभाको आह्वान गरिएका थिए  । नगरसभामा बजेट संशोधनको लागी लगिने प्रस्ताव अनुमोदन गर्न बैठकमा विवाद भएपछि स्थगित भएको छ ।

बैठकमा वडाको बजेट संशोधन गर्न मेयर हर्क साम्पाङले प्रस्ताव पेस गरेका थिए । बैठक सुरु लगत्तै वडा कार्यालयहरूबाट आएको बजेट संशोधन रकमान्तर गर्नेबारे सहमति जुटेको थियो ।

उपमेयर संयोजक रहेको बजेट तर्जुमा समितिले विभिन्न विषयगत समिति मार्फत आएको संशोधनको प्रस्ताव पनि पेस भएपछि विवाद भएको हो ।

मेयर साम्पाङले बजेट तर्जुमा समितिले ल्याएको बजेट प्रस्ताव आफूलाई जानकारी नदिई कार्यपालिका बैठकमा ल्याएको भन्दै असहमति जनाए ।

उनले कार्यपालिका बैठकमा प्रस्ताव आफू मार्फत मात्र आउने भन्दै उक्त रकमान्तरको प्रस्ताव स्वीकार्य नहुने अडान लिए ।

उपमेयर अइन्द्रबिक्रम बेघाले भने कानुन बमोजिम र प्रक्रिया अनुसार विषयगत समितिमार्फत आएको प्रस्तावलाई बजेट तर्जुमा समितिले रकमान्तरको प्रस्ताव कार्यपालिकामा निर्माणार्थ ल्याएको बताए ।

मेयर साम्पाङले आफूलाई थाहै नदिई बैठकमा प्रस्ताव ल्याउन नपाइने भन्दै डिपिआर शीर्षकको बजेट अन्यत्र लैजान नहुने र मेयर कोषलाई पनि बजेट थप गर्न रकमान्तर गर्नुपर्ने बताए ।

मेयर, उपमेयर, कार्यपालिका सदस्यहरूबिच आरोप प्रत्यारोप चल्दा वडा १७ का अध्यक्ष सूर्यबहादुर भट्टराईले मेयर साम्पाङलाई हिटलर र नश्लवादी चरित्र भएको आरोप समेत लगाए ।

बैठकमा वडा १५ का अध्यक्ष नरेश इवारमले बजेट रकमान्तरबारे २ वटा प्रस्ताव आएकोले मेयर, उपमेयर, विषयगत समितिका संयोजकहरूबिच बैठक बसेर सहमति कायम गरेर ल्याउन सुझाव दिए ।

उनको सुझाव अनुसार मेयर साम्पाङले कार्यपालिका बैठक स्थगित गर्दै पुन बजेट तर्जुमा समितिसँग छलफल पश्चात् पुन बैठक बस्ने भनी बैठक स्थगित गरे । तर सवा १ बजे सम्म पुनः बैठक बसेको छैन ।