धरान : धोकाबाज फेम्ड गायिका एलिना चौहानले आज धरान एक्सपोमा आफ्नो प्रस्तुति दिने भएकी छिन् ।

सुनसरी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको एक्स्पोको सातौँ दिन एलिना आउन लागेकी हुन् ।

छोटो समयमै लोभलाग्दो सफलता हात पारेकी गायिका चौहानका ‘मिनिरल वाटर’, ‘कुरा काट्ने मान्छेले काटुन’, ‘छेकेर माया छेकिन्न’, ‘मेरो परान’ लगायतका गीत चर्चित छन् ।

एक्स्पोमा एलिनासँगै स्थानीय कलाकारहरूले पनि आफ्ना कला प्रस्तुत गर्नेछन् ।

रैथाने उत्पादनलाई उच्च प्राथमिकता दिइएको धरान एक्स्पो अवलोकन गर्न आउनेलाई दिनभर प्रवेश शुल्क नलाग्ने संयोजक श्रेष्ठले जानकारी दिए । उनले भने, ‘साँझ मनोरञ्जनात्मक कार्यक्रम हुन्छ । राष्ट्रिय कलाकारहरू आउँदा २०० रुपैयाँ टिकट राख्ने गरेका छौँ ।’ एक्स्पोमा सवारी साधन पार्किङ पनि निःशुल्क रहेको संयोजक श्रेष्ठले बताए ।

फागुन ११ गतेदेखि सुरु भएको एस्क्पोमा दर्शकहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र विभिन्न मनोरञ्जनात्मक सामाग्रीहरू, किड्स जोन रहेको आयोजकले जनाएको छ ।