धरान : पाँचौँ मिष्टर भिजन शारीरिक सुगठन प्रतियोगिताको सबै तयारी पुरा भएको छ ।

धरान-१३ वेङक्वेट पार्टी प्यालेस हलमा आज हुने प्रतियोगितामा धरानका फिटनेस सेन्टरहरूबाट १८ जना शारीरिक सुगठक प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ५५ केजी तौल समूहमा ५ जना, ६० केजीमा ५ जना, ७० केजीमा ४ जना र ७५ केजी तौल समूहमा ४ जना बडिबिल्डर बिच प्रतिस्पर्धा हुनेछ ।

विजेता शारीरिक सुगठकले ‘पाँचौँ मिष्टर भिजन’ उपाधि सहित नगद ५० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

दोस्रो, तेस्रो र चौथो स्थानमा रहनेले नगद २५ हजार, १५ हजार, १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । व्यक्तिगत उपाधि तर्फ वेस्ट पोजर, वेस्ट इम्प्रुभमेन्ट, वेस्ट मस्कुलर र वेस्ट टिम उपाधि विजेताले जनही नगद ५ हजार प्राप्त गर्नेछ ।

अघिल्ला वर्षहरूमा मिष्टर भिजन प्रतियोगितामा भिजन फिटनेसका सुगठकहरु बिच मात्र प्रतिस्पर्धा हुने गरेको थियो ।

पाँचौँ प्रतियोगितामा भने धरानका सबै शारीरिक सुगठकहरुले प्रतिस्पर्धा गर्न पाउने खुल्ला गरिएको हो । प्रतियोगितामा पूर्व विजेताहरू सहभागी हुन पाउने छैनन् ।