धरान : भारत कानपुरका वैभव गुप्ताले गायन रियालिटी शो ‘इण्डियन आइडल १४’को उपाधि जितेका छन्।
उनले उपाधिसँगै २५ लाख रुपैयाँको चेक र एक ब्रेजा कार उपहार स्वरूप पाए । शोको फिनालेमा वैभवसहित शुभदीप दास चौधरी, अनन्या पाल, आद्या मिश्रा, पीयूष पंवार र अञ्जना पद्मनाभन प्रतिस्पर्धी थिए ।
शोमा शुभदीप र पीयूष क्रमशः फस्ट र सेकेण्ड रनरअप भए। उनीहरूले एक ट्रफी र ५ लाख रुपैयाँको चेक पाए। अनन्या थर्ड रनरअप बन्दै ट्रफी र ३ लाख प्राप्त गरिन ।
यही सिजनमा नेपालबाट गायिका मेनुका पौडेल पनि सहभागी भएकी थिइन्। उनी टप १० सम्म पुगेर बाहिरिएकी थिइन् ।
शोको पहिलो दुई र नवौँ संस्करणको निर्णायक सोनु निगम ग्राण्ड फिनालेको विशेष निर्णायक थिए ।
रियालिटी शो ‘सुपरस्टार सिंगर’ को आगामी सिजनमा सुपर जजको रूपमा देखिन लागेकी नेहा कक्कड पनि फिनालेमा सहभागी थिइन्।
वैभवले सन् १९९१ मा रिलिज एक्सन ड्रामा ‘हम’मा रहेको गीत ‘जुम्मा चुम्मा’ प्यारेलाल सिम्फोनी च्यालेन्जका लागि गाएका थिए। उनले फिनालेको अन्तिम गीत सोनू निगमका साथ ‘जोरुका गुलाम’ गाएका थिए।