वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकामा दादुरा-रुबेला रोग विरुद्धको खोप अभियान बुधवारबाट सुरु हुने भएको छ । नगरपालिका भित्र रहेका ९ महिना देखि ५ वर्ष मुनी उमेर समूहका २४ हजार बालबालिकाहरूलाई खोप लगाइने छ ।

वराहक्षेत्र नगरपालिकाको स्वास्थ्य शाखामार्फत ११ वटा वडामा खोप अभियान सञ्चालन हुनेछ । खोप अभियानमा नगरपालिकाका मातहतका स्वास्थ्यकर्मीहरू, स्वयंसेवकहरूले खोप लगाउने छन् । ११ वटा वडामा १ सय १९ वटा खोप केन्द्रबाट खोप अभियान सञ्चालन हुने नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले बताए ।

खोपको सञ्चालन, व्यवस्थापन लगायतका विषयमा जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूबिच सोमवार पालिका स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा नगर प्रमुख रमेश कार्कीले राष्ट्रिय अभियानमा वराहक्षेत्र नगरपालिकाका सबै बालबालिकाहरूले प्राप्त गरेको अवसरलाई कोही पनि बालबालिकाहरू नछुट्ने गरी खोप कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए । खोप अभियानको निरन्तर अनुगमन, समन्वय र सहकार्य गर्ने र बालबालिकाहरूमा शत प्रतिशत खोप लगाउन नगर प्रमुख कार्कीले अनुरोध गरे ।

दादुरा-रुबेला खोपबाट केही वर्ष अघिसम्म धेरै बालबालिकाहरूको निधन हुने गरेको बताउँदै नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताले एक जनालाई लागेको दादुरा-रुबेला खोपबाट १८ जनालाई सर्ने रोग नियन्त्रण र व्यवस्थापनका लागि खोप अनिवार्य भएको बताए । ‘बालबालिकाहरूलाई दादुरा रुवेला जस्तो प्राणघातक सरुवा रोगबाट सङ्क्रमण हुन नदिन, शिशु र बाल मृत्युदर कम गर्न तथा विश्वमै नेपालबाट दादुरा-रुबेला रोग सन् २०२६ सम्म अन्त्य गर्ने गरी सबै बालबालिकाहरूलाई नछुटाईकन खोप अभियान सञ्चालन गर्ने गरी व्यवस्थापन गरिएको उनले बताए ।