धरान : सुनसरी उद्योग वाणिज्य सङ्घको आयोजनामा गत फागुन ११ गतेदेखि धरान रङ्गशालामा आयोजना भइरहेको धरान एक्स्पोको एकदिन समय थप गरी फागुन २४ गते बिहीबार वरिष्ठ लोकगायक गङ्गा बरदानको आर्थिक सहयोगार्थ समर्पित गरिने भएको छ ।
वरिष्ठ लोकगायक गङ्गा बरदानको लागि गरिने उक्त च्यारिटी कन्सर्टमा चर्चित पप गायक धिरज राई, चर्चित गायिका मिलन नेवारसँगै स्थानीय कलाकार आस्था एन्ड द ब्रदस र शीर्षक एन्ड द फ्रेन्ड्सजको प्रस्तुति रहनेछ भने गङ्गा बरदानको समेत सो कार्यक्रममा प्रस्तुति रहनेछ ।
लुकी लुकी आँखा तिमी, तिम्रा नयन, तिमी रुँदा, सोइ ढोले सोई, जाऊ समाऊ, हिमाल नझुके सम्म जस्ता थुप्रै चर्चित गीतहरू रहेका छन् । पछिल्लो समय बुद्ध नेपालमा जन्मेका हुन् भन्ने अभियानमा उनी विश्व सङ्गीत यात्रामा छन् । त्यस्तै जहिले सम्म संसारमा, गाला रातै, इस्ट स्लोली, फुलबुट्टे सारी, सुनसान रातमा, जनम जनम जिउला लगायतका थुप्रै गीतहरू चर्चित छन् । भोइस अफ नेपालका कोच समेत रहेकी मिलनको टिमको विनोद राई विजेता भएको थियो ।
छपनीले छान छान डबकीले हान, कहाँमा काट्यो बेतको लौरी, बजारै भरौन धरानै, सिमसिम पानी, माया गर्ने बानी, जीउको मासु, धराने हावा जस्ता थुप्रै चर्चित गीतहरूका सर्जक तथा गायक गङ्गा बरदान उमेरले ७१ वर्ष काटिसकेका छन् भने सङ्गीत क्षेत्रमा ५० वर्षे लामो यात्रा तय गरिसकेका छन् । भोजपुरको दिङ्ग्लामा जन्मेका गायक बरदान श्रीमतीका साथ धरान-१४ विजयपुरमा भाँडामा बसेका छन् ।
आर्थिक अवस्था कमजोर भएकोले सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापन तथा सेवक अभियान र धरान सङ्गीत प्रतिष्ठानको संलग्नतामा कार्यक्रम आयोजना गरिन लागेको हो । कार्यक्रमबाट उठेको सम्पूर्ण रकम गङ्गा बरदानले मासिक रूपमा पाउने गरी स्थानीय बैङ्कमा जम्मा गरिने आयोजकले जनाएको छ ।


































































