धरान : बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबलको २४ औँ संस्करण धरान रङ्गशालामा शनिवार देखी सुरु हुँदैछ ।

गोल्डकपको उद्घाटन खेल धरान फुटबल क्लब र भारतीय युकेएफसी क्लब बिच हुने आज बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

युनाइटे खर्साङ फुटबल क्लब धरान रङ्गशालामा पाँचौँ पटक उत्रिने भएको हो । युकेएफसी यसअघिका गोल्डकपमा रोमाञ्चक प्रतिस्पर्धा गर्दै सेमिफाइनल सम्म पुगेको क्लब भएको हो ।

धरान फुटबल क्लबद्वारा आयोजित गोल्डकपको सबै तयारी पुरा भएको अध्यक्ष प्रताप तामाङले बताए । २५ वर्ष अघि २०५५ देखी सुरु भएको बुढासुब्बा गोल्डकप फुटबल काठमाडौँ उपत्यका बाहिर पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण प्रतियोगिता हो ।

मुलुकमा देखिएको आर्थिक मन्दीका बिच गोल्डकपले निरन्तरता पाउँछ पाउँदैन भन्ने आशङ्का बढिरहेको बोल २४औँ संस्करणका तयारी पुरा गरिएको छ । 

अध्यक्ष तामाङले भने सरकारको बियर सहित मादक पदार्थको ब्रान्डले प्रायोजन गर्न नपाउने गरी रोक लगाएपछि मूल प्रयोजक नपाए पनि गोल्डकप सफलतापूर्वक सम्पन्न हुने बताए ।

उनले भने ‘पेय पदार्थबाट प्रायोजन नभए पनि बुढासुब्बा गोल्डकपलाई आइएमई बैङ्क, क्वालिटी नुडल्स लगायतको प्रायोजन गरेको छ ।’

यसपालि गोल्डकपको आयोजनाका लागि बेलायत युके, हङकङ लगायत विदेशबाट प्राप्त सहयोग उल्लेखनीय रहेको उनले बताए ।

अध्यक्ष तामाङले भने ‘धरान उपमहानगरपालिका संयोजक रहेकाले पनि बुढासुब्बा फुटबलले निरन्तरता पाउने हामीलाई विश्वास छ ।’

धरान-१६ स्थित धरान रङ्गशालामा शनिवार फागुन २६ देखि सुरु हुने गोल्डकप चैत्र ३ सम्म सञ्चालन हुनेछ ।

आयोजक धरान फुटबल क्लबले मैदानमा पानी हालेर हरियो बनाउने, मैदान वरपर सरसफाइ तथा प्यारापिट मर्मत गर्ने कार्य बिहीबार अन्तिम चरणमा गरिरहेको थियो ।

प्रतियोगिताको अनुमानित बजेट ७७ लाख, ६० हजार रुपैयाँको छ । ६६ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महासचिव मिलन राईले भने ‘यसपालि गोल्डकप नाफामा रहने विश्वास गरेका छौँ ।’

२४ औँ गोल्डकपका विजेतालाई प्रदान गरिने १० लाख रुपैयाँ धरान हङकङ मञ्च लगायत हङकङ स्थित नेपाली सङ्घ संस्थाहरूले प्रायोजन गर्ने निश्चित भएको गोल्डकपका पुराना खेलाडी मञ्चका संस्थापक अध्यक्ष राजु लिम्बुले बताए ।

उपविजेतालाई प्रदान गरिने ५ लाख रुपैयाँ पुरस्कार बेलायत स्थित धरान युके समाजले प्रायोजन गर्ने भएको छ।

उत्कृष्ट गोल रक्षक २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ । सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने छन् ।

धरान युके हेल्पिङ हेण्डसले ४ लाख रुपैयाँ र अस्ट्रेलिया, पोर्चुगल, जापान, दुबई, कोरिया, अमेरिका, बहराइन, मकाउ लगायतका नेपालीहरूबाट ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । धरान उपमहानगरपालिकाले ९ लाख रुपैयाँ, आइएमईले ५ लाख, कोशी प्रदेश खेलकुद विकाश बोर्डले ५ लाख, क्वालिटी नुडल्सको २ लाख रुपैयाँको प्रायोजन गरेको छ ।

प्रतियोगितामा धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, भारतीय क्लब युकेएफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा, जिल्ला फुटबल सङ्घ मोरङ सहभागी हुने अध्यक्ष तामाङले बताए ।24th budhasubba goldcup