धरान : नेपालको प्रसिद्ध फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको २४ औँ संस्करण फागुन २६ गते देखि चैत्र ३ गते सम्म सञ्चालन हुने भएको छ ।

धरान फुटबल क्लबले आज बुधवार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो । क्लबका अध्यक्ष प्रताप तामाङले प्रतियोगिताको ९० प्रतिशत तयारी पूरा भएको बताए ।

सरकारको बियर सहित मादक पदार्थको ब्रान्डलाई प्रचारको लागि खेलकुद प्रतियोगिता प्रायोजन गर्न नपाउने गरी रोक लगाएपछि बुढासुब्बा गोल्डकप आइएमई बैङ्क, क्वालिटी नुडल्स लगायतको प्रायोजनमा हुँदैछ ।

अध्यक्ष तामाङले भने, ‘सरकारले प्रायोजनमा लगाएको रोकमा पुनः विचार नगरे खेलकुद क्षेत्र धराशायी हुनसक्छ ।’ बियर कम्पनीले प्रायोजन गर्न रोक लागेपछि बुढासुब्बाको २४ औँ संस्करणको एक तिहाइ बजेट रेमिटेन्स सहयोगमा आधारित रहेको देखिएको छ ।

यसपालि विजेतालाई दिइने पहिलो पुरस्कार १० लाख रुपैयाँ धरान हङकङ मञ्च लगायत हङकङ स्थित नेपाली सङ्घ संस्थाहरूले प्रायोजन गर्ने निश्चित भएको छ ।

उपविजेतालाई दिइने ५ लाख रुपैयाँको पुरस्कार बेलायत स्थित धरान युके समाजले प्रायोजन गर्ने भएको छ । यसैगरी धरान युके हेल्पिङ हेण्डसले ४ लाख रुपैयाँ र अस्ट्रेलिया, पोर्चुगल, जापान, दुबई, कोरिया, अमेरिका, बहराइन, मकाउ लगायतका नेपालीहरूबाट ३ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

विदेशबाट प्राप्त हुने सहयोग रकम प्रायः निश्चित छ । धरान उपमहानगरपालिकाले ९ लाख रुपैयाँ, प्रायोजक आइएमईले ५ लाख, काशी प्रदेश खेलकुद विकाश बोर्डले ५ लाख, क्वालिटी नुडल्सको २ लाख  प्रायोजन यसपालिको सबै भन्दा धेरे रकम हो ।

प्रतियोगिताको अनुमानित बजेट ७७ लाख, ६० हजार रुपैयाँको छ । ६६ लाख ५५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा २३ औँ बुढासुब्बा गोल्डकपको हिसाब सार्वजनिक गर्दै अध्यक्ष तामाङले अब क्लबले आर्थिक पारदर्शिता, संस्थागत निर्णयहरूलाई इमानदारी पूर्वक लागू गर्ने विश्वास दिलाए ।

क्लबका मानार्थ अध्यक्ष, कोशी प्रदेश खेलकुद सङ्घ अध्यक्ष किशोर राईले नेपाली फुटबलको इतिहासमा  धरान फुटबल क्लबले गर्ने नेपालमा अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिताको इट्टा थप्ने काम गरेको बताए ।

उनले भने, ‘अहिले एन्फाको गतिविधि नभएको अवस्थामा स्थानिय क्लबहरूले फुटबललाई अघि बढाइरहेको छ ।’ सरकारको स्पष्ट नीति नियम बनाएर फुटबललाई सम्बोधन नगरेका कारण फुटबल अघि बढ्न नसकेको उनको भनाई छ ।

किशोर राई नेतृत्वबाट हटेपछि पहिलो पटक धरान फुटबल क्लबले बुढासुब्बा गोल्डकप आयोजना गर्न लागेको हो । प्रायः घाटामा गइरहेको प्रतियोगिताले निरन्तरता पाउँछ पाउँदैन भन्ने आशङ्का भइरहने गरेको छ ।

राईले भने, ‘क्लबमा नयाँ टिम आएको छ, बुढासुब्बा नाफाको प्रतियोगिता बनाउने चुनौतीलाई नयाँ टिमले सहज रूपमा पुरा गरेर देखाउने विश्वास छ ।’

प्रतियोगितामा लिग च्याम्पियन चर्च ब्वाईज क्लब, श्री स्टार क्लब, धरान फुटबल क्लब, एनआरटी काठमाडौँ, त्रिभुवन आर्मी क्लब, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर, जिल्ला फुटबल सङ्घ मोरङ, भारतीय क्लब युकेएफसी सहभागी हुने अध्यक्ष तामाङले बताए ।

प्रतियोगितामा विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले नगद ५ लाख रुपैयाँ साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी नगद १ लाख र प्रत्येक खेलको म्यान अफ द म्यान नगद १० हजार पाउने छ ।

उत्कृष्ट गोल रक्षक २५ हजार, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मीड फिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार प्रदान गरिने छ । सर्वाधिक गोलकर्ताले नगद ३५ हजार पाउने छन् ।

पत्रकार सम्मेलनमा क्लबका संरक्षक पूर्व उपमेयर मीन सुब्बाले बुढासुब्बा धरानको परम्परा बनिसकेको बताए । कार्यक्रम सञ्चालन महासचिव नवीन राईले सञ्चालन गरेका थिए ।