धरान : काठमाण्डौमा सोमवार हुने थ्री बाइ थ्री बास्केटबल राष्ट्रिय प्रतियोगितामा धरानबाट प्रतिस्पर्धा गर्न ५ जना खेलाडीको टोली शुक्रवार प्रस्थान गरेको छ ।

महिला पुरुष राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न प्रस्थान गरेको धरान बास्केटबल टिममा नेपाल बास्केटबल सङ्घका केन्द्रीय सदस्य रोशन राईको नेतृत्वमा कविन मगर, सर्वोधन राई, सुजन राई र रियोन राजवंशी छन् ।

उनीहरूलाई शुक्रवार वुद्धचोक एमसि क्याफेमा भएको संक्षिप्त कार्यक्रममा बिदाइ गरिएको थियो । बास्केटबल प्रशिक्षक विकास चाम्लिङ राई र पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले खादा लगाई दिएका थिए ।

टिमलाई धरान-१० का वडाध्यक्ष सुनसरी बास्केटबल सङ्घका उपाध्यक्ष विवेक राईले जर्सी समेत प्रदान गरेका थिए । सङ्घद्वारा आयोजित महिला पुरुष ओपन राष्ट्रिय प्रतियोगितामा धरानबाट पुरुष टिमले मात्र प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगितामा पुरुष तर्फ ४० र महिला तर्फ ८ टिम बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा राष्ट्रिय अन्तर्राष्ट्रिय टिम तथा खेलाडीहरूको सहभागिता रहेको छ ।