सुनसरी : हराउँदै गएको कुस्ती खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता पहिलो पटक इनरुवामा आयोजना हुने भएको छ ।

सबै क्षत्रमा पछि परेको इनरुवालाई खेलकुद क्षेत्रमा अघि बढाउन नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला समितिको आयोजन राष्ट्रिय युवा सङ्घ नेपालको सह आयोजनमा प्रतियोगिता आयोजन हुन लागेको सोमवार पत्रकार सम्मेलनमा बताइएको छ ।

प्रतियोगिताको व्यवस्थापन नेपाल खेलकुद महासङ्घ इनरुवा नगर समितिले गर्नेछ ।

पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक चिनेश्वर मेहताले ओझेलमा परेको कुस्ती खेलप्रति स्थानीय कुस्ती खेलाडीहरूमा आकर्षण बढाउन प्रतियोगिता आयोजना गरिने भएको बताए । उनका अनुसार प्रतियोगिताको नाम प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८० राखिएको छ ।

प्रतियोगितामा बङ्गलादेश, भारत र नेपालका कुस्तीबाँज ६ जना महिला सहित ८० जना दङ्गल खेलाडीहरूको कुस्ती भिडन्त गराउने तयारीमा थालिएको मेहताले बताए ।

प्रतियोगिता चैत ५ देखि ७ गते सम्म इनरुवा स्थित फिल्डमा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार पुरस्कार प्रदान गरिने छ ।

दोस्रोलाई ७१ हजार र तेस्रो हुनेलाई ५१ हजार नगद पुरस्कार प्रदान गरिने घोषणा पनि पत्रकार सम्मेलनमा गरिएको छ । प्रतियोगिताको लागि अनुमानित २१ लाख रुपैयाँ खर्च हुने आयोजकले जानकारी दिएको छ ।