धरान : सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

शनिवार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो।

निगमले शुक्रवार एक विज्ञप्ति जारी गरी पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ र डिजेल तथा मट्टितेल दुई रुपैयाँ घटाएको जानकारी दिएको हो।

भारतीय आयल कर्पोरेसनले पठाएको मूल्य सूची अनुसार निगमले नयाँ बजार मूल्य तोकेको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ २२ पैसा र डिजेलमा २ रुपैयाँ ०६ पैसा घटाएर नयाँ मूल्य सूची पठाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत् छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

यो क्षेत्रमा अब पेट्रोलको मूल्य १६८ रुपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टितेल १५५ रुपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७० रुपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ।

तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको मूल्य १७१ रुपैयाँ प्रतिलिटर पर्नेछ।

त्यस्तै डिजेल र मट्टितेल १५८ रुपैयाँ पर्नेछ।

IOC-new-pr